Logo

राजपाभित्र विवाद भएको खुलासा गर्दे हृदयष त्रिपाठीलाई ‘महान आत्मा’ किन भने अनिल झाले ?



राष्ट्रिय जनता पार्टी गठन भएको तीन महिना पूरा भएको छ । तर पार्टीभित्रका शीर्ष नेताहरुबिचमा एकमत हुन नसक्दा संगठनात्मक रुपमा गति लिन सकेको छैन । यसै विषयमा पार्टीका एक नेता अनिल झासँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नपाल बहसका लागि अन्तवार्ता लिनुभएको छ । उक्त अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

तपाईंको पार्टी गठन भएको तीन महिना पूरा भयो । ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी भताभुङ्ग भयो भन्ने टिप्पणी हुन थालेको छ । किन यस्तो भयो ?
त्यस्तो केही भएको छैन । राजपा गठन भएपछि निर्वाचन, आन्दोलन हुँदै गर्दा पार्टी विधिसम्मत एकीकरण हुन सकेको थिएन । तीन दिन पहिले पार्टी एकीकरण भएको पत्र निर्वाचन आयोगबाट पाएका छौँ । संसद सचिवालयमा पनि पार्टी एकीकरणको रुमपा दर्ता भएको छ ।

तर राजपा संस्थागत हुन सकेन नि ?
राजपाले हिजोदेखि मात्रै विधिसम्म आकार ग्रहण ग¥यो । अध्यक्षमण्डलको बैठकले अब पदाधिकारी र केन्द्रिय समितिको बैठका गर्ने निर्णय गरिएको छ । त्यस्तै वर्गीय संगठनको एकीकरण गर्ने निर्णय गरेका छौँ । पार्टीका कार्यालयहरु पनि एउटै बनाउने निर्णय गरेका छौँ ।

चुनावको विषयमा पनि सबै नेताहरुको एकमत हुन सकेको छैन नि ?
बैठकमा चुनावको चर्चा भएकै छैन ।

अध्यक्षमण्डलको बैठकमा चुनावको चर्चा भएको छैन ?
म सत्य कुरा भन्दैछु । बैठकमा संगठनको व्यवस्थापनमा मात्रै छलफल भएको छ ।

राजेन्द्र महतो र महन्थ ठाकुर एकातिर, अनिल झा र शरतसिं भण्डारी एकातिर, महेन्द्र राय यादव कता हो कता ? राजकिशोर यादव चुनावमा जानै हुँदैन भनिरहनुभएको छ ।
तपाईमा हाम्रो पार्टीलाई भताभुङ्ग पार्ने योजना छ भने केही भन्नु छैन । नत्र भने पार्टीभित्र त्यस्तो विमति केही छैन । सबै नेताले एकमत रुपमा पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा छलफल गर्नुभएको छ । अब हामी भावी रणनीति तय गछौँ ।

हृदयष त्रिपाठीले त पार्टी संगठनात्मक रुपमा बलियो भएन भन्नुभएको छ नि ?
ठीक छ, हृदयष जि महान नेता हुनुहुन्छ । उहाँ जस्तो व्यक्ति पार्टीमा, मधेशमा र नेपालमा नै कोही हुनुहुन्न । उहाँको भनाईलाई मैले केही भन्न मिल्दैन । उहाँ हामी सबैका गुरुबा हुनुहुन्छ । महान आत्माको बारेमा केही भन्नुपरेन ।

तपाईहरुबिचमा द्धन्द्ध र विवाद छ ?
पार्टीभित्र द्धन्द्ध र विवाद त भइहाल्छ नि । यो त जीवन्त पार्टीको विशेषता हो । अलग अलग पार्टी एक ठाउँमा आउँदा स्वाभाविक रुपले कठिनाईको चुनौति समाना गर्नुपर्छ ।

राजपा अब फुट्दैन ?
गठन भएको तीन महिनामै कसरी फुट्छ ?

तर नेपालमा त पार्टी फुटिरहन्छन् नि ?
धेरै पार्टी फुटेको र जुटेको अनुभव सबैभन्दा बढि हामीलाई छ ।

 

 



प्रतिक्रिया दिनुहोस्