Logo

ठेक्का सम्झौता भएको तेह्र वर्षमा पनि काम भएन : मन्त्री साह  



काठमाडौं, ७ साउन । सहरी विकासमन्त्री प्रभु साहले संविधान संशोधन प्रस्ताव पारित भएपनि वा नभएपनि राजपा निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री साहले दलहरुवीचको द्वन्द्व अन्त्य गर्नु आजको आवश्यकत्ता भएकोले सकारले संविधान संशोधनको लागि ईमानदार प्रयास गरिरहेको जनाए । उनले भने,‘संविधान संशोधन गर्नुपर्छ, मधेशको समस्या हल गर्न हामी गम्भिर छौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री साहले अहिले संविधान संशोधन गर्नै हुँदैन भन्ने र संविधान मान्दै मान्दैनौं जलाउँछौं भन्नेहरु एक ठाउँमा बसेर कुराकानी भैरहेको र नजिक आएकोले संविधान संशोधन हुनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने समेत स्पष्ट पारे ।

राजपाले संशोधन नभएसम्म चुनाव हुन दिदैनौं भनेर चेतावनी दिईरहेको छ नि यस्तो अवस्थामा चुनाव हुन्छ त भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘चुनाव त हुन्छ, उहाँहरुले विरोध गरेपनि चुनाव हुन्छ, तर जबरजस्ती चुनाव गर्नुहुँदैन, यसअघिको निर्वाचनमा पनि विरोध भएकै हुन्, तर सोचेको भन्दा राम्रो भोट खसेको थियो।’

त्यस्तै उनले मन्त्रिमण्डल विस्तार अब एक÷दुई दिनभित्रै हुने समेत विश्वास दिलाए । उनले भने,‘हामी त तयारी अवस्थामा छौं, अब एक दुई दिनभित्रै होला।’

मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको निर्देशन बमोजिम नै सडक विस्तार लगायतका विभिन्न कामहरु भैरहेको भएपनि केही ढिलासुस्ती भैरहेको स्विकार गरे । ‘प्रधानमन्त्रीले दिएको निर्देशन बमोजिम कामहरु समेत भैरहेका छन्,’ उनले भने,‘सडकका खाल्डा खुल्डीहरु अब चाँडै पुरिन्छन्।’

आफू घट्ना भएपछिमात्रै तात्ने मान्छे नभएको समेत साहले जिकिर गरे । उनले भने,‘प्रभु साह घट्ना हुनुभन्दा पहिले नै सचेत छ, म पहिल्यै नै जनतासँग प्रत्यक्ष जोडिएका समस्याहरुबारे नियमित परिक्षणमै छु।’

कलंकी–नाघढुंगा सडक सूचारुबारे आफूले ईनिसियसन लिएको उल्लेख गर्दै मन्त्री साहले भने,‘हाम्रो मन्त्रालयसँग प्रत्यक्ष जोडिएको प्रोजेक्ट हो, यो सडकखण्ड सूचारु गराउनको लागि मैले नै पहल लिईरहेको छु, तर यो विषयमा अदालतमा मुद्दा परेकोले यसबारेमापनि म, उपत्यका विकास प्राधिकरणका आयुक्त लगायत गएर प्रधानन्यायाधीशलाई भेटेर ध्यानाकार्षण गराएका छौं, छिटो काम हुनेमा विश्वस्त छु।’

त्यस्तै उनले जोरपाटी–साँखु सडक खण्डबारे निर्माणबारे आफूले विशेष चासो लिएकोले केही समयमै परिणाम आउने विश्वस्त रहेको बताए । ठेक्का, पट्टा, टेण्डर अझैपनि पूरानै रहेकोले त्यसले पनि काममा समस्या पारेको उनको गुनासो थियो ।

साहले भने,‘०६१ सालमा गरिएको टेण्डर अहिलेसम्म पनि रनिङ् छ, यो त अचम्म लाग्यो मलाई, धेरे पूराना टेण्डरहरु छन्, ती फेज आउट भएका छैनन्।’ साहले २०६१ सालमा सम्झौता भएको ठेक्काको काम अझै हुन नसकेको बताए ।

साहले जिम्मेवारी लिई काम नगर्ने जोसुकैलाई कडा कारबाही गर्ने तयारी गरिएको सुनाए । “कामको जिम्मा लिएर समयमा नगर्नेलाई गम्भीर कदम चालिनेछ, यसले गर्दा धेरै विकास निर्माणमा समस्या भएको छ, कुन योजना कहिले सम्झौता भयो ? किन काम भएन ? यसको विस्तृत विवरण मागेको छु, यसलाई छानबिन गरी कारबाही गर्छौं”– उनले भने ।

सडक, विद्युत्, खानेपानी, टेलिफोन, ढललगायत सडकमा काम गर्ने निकायले एकीकृत योजना नबनाई काम गर्दा समस्या भएकाले यसतर्फ सरकारले छलफल गरिरहेको मन्त्री साहको भनाइ थियो ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी–साँखु सडक छिटो विस्तार गर्न निरन्तर अनुगमन गरी समस्या समाधान गराएर काम गराउने पहल सुरु गरिएको उनले जानकारी गराउए ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक बिस्तारका लागि अदालतमा परेका मुद्दाका कारण काम अघि बढ्न नसकेकाले जे फैसला गरे पनि छिटो गर्न प्रधानन्यायाधीशलाई भेटी अनुरोध गरिएको मन्त्री साहले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्