Logo

कास्कीमा मतदाता नामावली संकलन उत्साहपूर्ण



८ असार, पोखरा । कास्कीमा मतदाता नामावली संकलनमा उत्साह देखिएको छ । जिल्लामा सात दिनमै दुई हजार ७०१ जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत जिल्लामा एक हजार ४७५ पुरुष र एक हजार २२६ महिलाले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।
बूढाबूढी, अपाङ्गता भएका ,विदेशवाट घर फर्केका र नाम दर्ता गर्न छुट भएका मतदाताले विशेष चासोका साथ पोखरा–लेखनाथ महानगरपालिकाको पार्दीस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा आएर नाम दर्ता गराएका हुन् ।

कार्यालयले यस अवधिमा त्रुटि सच्चाउने, ठाउंँ परिवर्तन र मृत्यु भएकाको मतदाता नामावलीवाट नाम हटाउने काम पनि गर्ने बताइएको छ ।
एक महानगर र चार गाउँंपालिका रहेको कास्कीमा हाल दुई लाख २४ हजार ८११ मतदाता छन् ।
जिससको निर्वाचन प्रक्रिया शुरु

क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जिल्ला समन्वय समिति कास्कीको निर्वाचन प्रक्रियालाई अघि बढाएको छ ।
निर्वाचन कार्यक्रमका लागि जिससको भवनमा सात कर्मचारीसहित आजदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी पांँच दिनभित्र निर्वाचन कार्यक्रम प्रकाशन गरिने क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए ।

निर्वाचनका लागि महानगरका प्रमुख र उपप्रमुख, गाउंँपालिका अध्यक्ष र उपाध्यक्ष गरी पांँच तहका १० मतदाता छन् । निर्वाचन गराउने जिम्मा जिल्ला न्यायाधीशलाई दिइएको र प्रमुख तथा उपप्रमुखमा उमेदवारी दिँंदा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।
जिल्लामा एक प्रमुख र एक उपप्रमुख, एक महिला सदस्य, तीन दलित वा अल्पसंख्यक सदस्य तथा तीन अन्य गरी नौ सदस्यीय जिसस गठन हुने छ । सोका लागि पांँच स्थानीय तहमा निर्वा्चित ३८१ जना नै उम्मेदवार बन्न सक्ने छन् । रासस



प्रतिक्रिया दिनुहोस्