Logo

धमलाले प्रश्न तेर्साएपछि प्रचण्डले भने,“मनको कुरा बुझेर प्रश्न गर्नुभयो”



काठमाडौँ, ८ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकार ऋषि धमलाले दुरगामी प्रश्न सोधेका भन्दै धमलाको प्रशंसा गरेका छन् ।

आईतबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै पूर्व प्रधामन्त्रीसमेत रहेका प्रचण्डले धमलाको प्रश्नप्रति टिप्प्णी गर्दै यस्तो बताएका छन् ।

पत्रकार ऋषि धमलाले तपाई अब कसलाई प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ ? अहिलेको कांग्रेस र माओवादी केन्द्रको गठबन्धन तोड्न आँट्नुभएको हो ? भनेर प्रश्न गरेका थिए । धमलाको प्रश्न भुईँमा खस्न नपाउँदै अध्यक्ष प्रचण्डले मुुुसुक्क हाँसेर यस्तो प्रतिक्रिया दिएका थिए ।

अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले देश गुण्डा र तस्करहरुको हातमा पुग्ने खतरा देखिएको भन्दै कार्यकारी राष्ट्रपति तथा अन्यमा समानुपातिक प्रणालीमा जानुपर्नेमा जोड दिए ।
‘पहिले दलित, गरिव तथा पीछडिएका वर्गले चुनाव लड्ने अवस्था थिएन । अहिले आएर मध्यम वर्गले पनि चुनाव लड्ने अवस्था भएन,’ प्रचण्डले भने, ‘अब त पैसा खर्च गर्नेले मात्र चुनाव जित्ने देखियो । यस्तै हो भने देश गुण्डा तस्करको हातमा जाने खतरा छ । अब कार्यकारी राष्ट्रपति प्रणालीको विकल्प छैन ।’

माओवादी अध्यक्षले पहिलो संविधानसभापछि कार्यकारी प्रणालीमा जान नेपाली काङ्ग्रेस र नेकपा एमाले दुवै सहमत भएपनि दोस्रो संविधानसभामा आफूहरु विजयी भएपछि त्यसबाट पछि हटेको दाबी गरे । उनले कार्यकारी राष्ट्रपति प्रणाली लागु गर्न सबै पार्टीहरुलाई सहमतिमा ल्याउन पहल गर्ने बताए ।

‘पहिले राष्ट्रपतिमा प्रचण्डले जित्ने भन्ने उनीहरुलाई डर थियो । अब त त्यो सम्भावना अहिलेलाई छैन । जित्ने उनीहरुले नै हुन्,’ उनको भनाई थियो, ‘अब त काङ्ग्रेस–एमाले पनि मान्लान् कि ?’
यदी सहमतिमा नआए दबाब तथा आन्दोलनका कार्यक्रमहरु शुरु गर्ने चेतावनी प्रचण्डले दिए ।

प्रचण्डले आफ्नो पार्टीले शहर केन्द्रीत सुधारका कार्यक्रमहरु ल्याए पनि त्यसअनुरुप भोट नआएकोमा आश्चर्य प्रकट गरे । ‘सडक चौडा पारियो, सहर उज्यालो पारियो । अन्तर्रा्ष्ट्रिय सम्बन्ध सुमधर बनाएँ । तर यहाँका टाठाबाठाले बुझेनन् बरु गाउँका जनताले माया दिए,’ उनले भने, ‘यसले देखाउँछ कामभन्दा पनि सहरमा जसले पैसा खर्च गर्यो उसले नै जित्ने रहेछ ।’

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा हार–जीत हेरेरभन्दा पनि संविधान कार्यान्वयन गराउनका लागि चुनाव गराएको उल्लेख गरे ।

उनले जसले जिते पनि काम भने माओवादी कै गर्नुपर्ने बताए । ‘गणतन्त्र, संघीयता, समावेशी, धर्म्निरपेक्षतालगायत सबै माओवादीका एजेन्डा हुन्,’ उनले भने, ‘जसले जिते पनि माओवादीकै एजेण्डा कार्यान्वयन हुन्छ । उनीहरुले माओवादी कै काम गर्नुपर्छ ।’

उनले माओवादी एजेन्डाको जित हुँदा पनि पार्टी किन हार्यो भनेर यस बैठकले समिक्षा गरेको बताए । उनले अब माओवादीबाट टुक्रिएर गएमा मोहन वैध, नेत्रविक्रम चन्द र बाबुराम भट्टराईसँग एकताको पहल गर्ने पनि बताए । त्यस्तै अब फेरि पार्टी निर्माण गर्न गाउँ फर्कने उद्घोषसमेत गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot