Logo

मेट्रो ट्राफिक एफएमको पाँचौँ वार्षिकोत्सवमा जे देखियो-(फोटोफिचर)



यात्रुको साथी बन्दै ट्राफिक एफएम

काठमाडौँ, ८ साउन । सवारी साधन प्रयोग गर्ने व्यक्तिको सहयोगीका रुपमा ट्राफिक एफएम साथी बन्दै गएको छ ।

काठमाडौँ उपत्यकामा दिनहुँ हुने जामका कारण सवारी आगमनमा समस्या हुँदै गरेको अहिलेको अवस्थामा ट्राफिक एफएम साथी बन्दै गएको हो । मेट्रो ट्राफिक एफएम ९५.६ मेगाहर्जको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘ट्राफिक जनचेतना श्रव्यदृश्य विमोचन’ कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ट्राफिक जनचेतनाका साथै सुरक्षा जनचेतना र अपराध न्यूनीकरणका लागि एफएमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सवारी साधनमार्फत सडक प्रयोगकर्ताका लागि ट्राफिक एफएम साथीको रुपमा विकास हुँदै गएको छ ।” महानिरीक्षक अर्यालले ट्राफिक क्षेत्रमा चाहिने आवश्यक पूर्वाधारका लागि आफुले पहल गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

उहाँले काठमाडौँका सडकमा ट्राफिक बत्ती नभएको वर्तमान परिस्थितिमा घाम, पानी नभनी ट्राफिक प्रहरीले निभाएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले ट्राफिक एफएमले सवारी व्यवस्थापनमा ठूलो भूमिका खेलेको भन्दै यसलाई थप प्रविधियुक्त बनाएर अगाडि लैजानु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

विसं २०६९ साउन ८ गते स्थापना भएको ट्राफिक एफएमले बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ गतेसम्म उपत्यकाको ट्राफिक व्यवस्थापनको बारेमा जानकारी दिनुका साथै देशभर घटेका घटनाको समेत जानकारी दिँदै आएको महाशाखाका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

कार्यक्रममा ट्राफिक एफएम स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका तत्कालीन महाशाखाका प्रमुख विज्ञानराज शर्मा, नेपाल प्रहरी सञ्चार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा राजिव सुब्बा, अधिवक्ता बलदेव शर्मा, काठमाडौँ दिगो सहरी यातायात आयोजनाका प्रमुख अनन्त आचार्य, अल्का अस्पतालका अध्यक्ष कुमार थापा, ट्राफिक महाशाखाका प्रहरी नायव निरीक्षक विष्णु थापालगायतलाई सम्मान गरिएको थियो ।

सो अवसरमा काठमाडौँ दिगो सहरी यातायात आयोजनाले महाशाखालाई ट्राफिक प्रहरी निगरानी गर्ने दुईवटा सवारी साधन पनि हस्तान्तरण गरेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्