Logo

नयाँ शक्ति र संघिय समाजवादी फोरमको एकता रोकिनुको रहस्य यसरी खोले राजेन्द्र श्रेष्ठले



नयाँ शक्ति र संघिय समाजवादी फोरमबिचको एकता प्रक्रिया स्थगित भएको बताइएको छ । यसै सम्बन्धमा केन्द्रित रहेर नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले संघिय समाजवादी फोरमका सह अध्यक्ष एवम् वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठसँग कुराकानी गर्नुभएको छ । श्रैष्ठसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

नयाँ शक्ति र संघिय समाजवादी फोरमबिचको एकता प्रक्रिया भङ्ग भएको हो ?
एकता प्रक्रिया भङ्ग भएको छैन । वार्ता जारी छ । पार्टी एकता हुन्छ । तर सहजै हुन्छ भनेर सोच्नु नै गलत हो ।

तपाईको कारणले वार्ता असफल भएको भन्ने आरोप छ नि ?
खै अब नेपालका मिडियाहरुले के भने मलाई थाहा छैन । मिडियाहरु अन्तरयामी छन् जस्तो छ ।

तपाई त वार्ता समितिको संयोजक पनि हुनुहुन्छ नि ?
मलाई संयोजक भन्ने अनि मैले नै वार्ता असफल बनायो भन्न मिल्छ त ?

अब नयाँ शक्ति र संघिय समाजवादी फोरमबिचको एकता के हुन्छ ?
कुनै पनि पार्टीको एकताको प्रक्रिया भनेको वैचारिक, संगठनात्मक र भावनात्मक रुपमा मिल्नुपर्छ । त्यसको लागि हामी प्रयास गर्दैछौँ ।

बाबुराम भट्टराई र उपेन्द्र यादवले तत्कालका लागि एकता प्रक्रिया स्थगित भयो भन्नु भएको छ । किन ?
उहाँहरुले हामीलाई त्यो भन्नुभएको छैन । हामी वार्तामा सामेल भयौँ । उहाँहरुबिचमा अलग्गै कुरा भयो । संयुक्त रुपमा पनि बस्यौँ । त्यसपछि एकताको कुरा आ–आफ्नो केन्द्रिय समितिमा लिएर जाऔँ, केन्द्रिय समितिले गरेको निर्णय अनुरा अघि बढौँ भन्ने कुरा भएको हो ।

अहिलेसम्म भएको छलफल किन असफल भयो त ?
वार्ता समितिमा भएको कुरालाई केन्द्रिय समितिमा त लैजानुप¥यो नि । पार्टी एकताको प्रक्रियामा दुर्व पक्षबाट आ–आफ्ना कुरा आइरहेको छ । वार्ता समितिले पार्टीको नाम झण्डा, पदाधिकारीको संरचना, नीति, सिद्धान्त लगायतका कुरा मिलाएको छ । अब त्यसलाई दुवै पार्टीको केन्द्रिय समितिले पास गराउनुपर्ने हुन्छ ।


नेतृत्वको विषयमा भागबण्डा नमिलेको हो ?
भागबण्डा नमिलेको होइन । पार्टी एकताको प्रक्रियामा भन्नासाथ सबै कुरा मिल्छ भन्ने छैन । पार्टी भनेको व्यक्तिको एकता होइन । समग्र नीति, सिद्धान्त र विचारको पनि एकता हो । दुई पक्षबिचको सबै कुरा मिलेपछि बल्ल एकता गर्ने हो । संघिय शासन प्रणालीभित्र पहिचान र मुक्तिका कुरा समावेश हुनुपर्छ । हाम्रो जस्तो देशमा समृद्धि भएर मात्रै हुँदैन । समतामुलक समृद्धि चाहिन्छ । यि सबै कुरामा एकमत हुनु जरुरी छ ।

तपाईहरुले साउन १५ गतेभित्र एकता गर्ने भन्नुभएको थियो । नहुने भयो हैन ?
कस्ले तोक्यो मिति ? पार्टी एकता गर्ने भनेर हामीले कुन हल बुक गरेका छाँै । नेपालमा कार्यक्रम गर्नका लागि ३४,४० दिन अघि हल बुक गर्नुपर्छ । हुदै नभएको कुरा १५ गते एकता भनेर भन्न मिल्छ ? हामीलाईभन्दा मिडियालाई हतार भएर भनिदिँदारहेछन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot