Logo

विश्वकप छनौट : कप्तान सन्दीप फेरि नायक, नेपालद्वारा मलेसिया ५ विकेटले पराजित



काठमाडौँ – कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्न सफल भएको छ ।

सिंगापुरमा जारी आइसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगितामा नेपालले चौँथौ जीत निकाल्न सफल भएको हो ।

९० रनको झिनो लक्ष्य पाएको नेपालले मात्र २२.२ ओभरमा उक्त लक्ष्य भेट्याएको थियो ।नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले यसक्रममा ६ चौका हिर्काएका थिए ।

उनलाई दिपेन्द्रसिंह ऐरले १९ तथा ओपनर सन्दीप सुनारले १५ रन बनाएर साथ दिए ।यसअघि, कप्तान सन्दीपले ७ विकेट लिएपछि मलेसिया ८९ रनमा अलआउट हुन पुगेको थियो ।

सन्दीपले ९.१ ओभर बलिङ गर्दै १ मेडनसहित मात्र १३ रन खर्चेर सात विकेट लिए । शहबाब आलमले २ विकेट लिए ।मलेसियाका लागि ओपनर सायेद अजिजले ४६ रन बनाउनबाहेक अन्य कुनै ब्याटसम्यानले ठूलो योगदान दिन सकेनन् ।

जीतसँगै नेपालले विश्वकपमा छनौट हुने आशा कायम राखेको छ । नेपालले हालसम्म पाँचमध्ये चार खेल जितेको छ । नेपालले दुवैपटक मलेसिया र सिंगापुरलाई पराजित गर्न सफल रहेको छ भने एक मात्र खेलमा अफगानिस्तानसँग पराजित भएको छ ।

राउन्ड रोबिन लिगको आधारमा प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आर्यसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot