Logo

पाँच वर्षको अवधिमा जीवन बिमा कम्पनीको लगानी दोब्बर



साउन १०, काठमाण्डौ । पाँच वर्षको अवधिमा जीवन बिमा कम्पनीको लगानी दोब्बर भएको छ । बिमा समितिको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२–७३ सम्ममा जीवन बिमा कम्पनीको लगानी १ खर्ब १८ अर्ब पुगेको छ ।

आर्थिक वर्ष ०६८–६९ मा भने कम्पनीहरूले ५४ अर्ब ५० करोड रुपैयाँ मात्रै लगानी गरेका थिए ।
बिमा सम्बन्धी निर्देशिका अनुसार कम्पनीहरूले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्रमा कुल लगानीको २५ प्रतिशत नघट्ने गरी ‘क’ वर्गमा लगानी गरिएको हुनुपर्नेछ । वाणिज्य बैंकको मुद्दती निक्षेपमा ३५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।

त्यस्तै, विकास बैंकको मुद्धतीमा १५ प्रतिशत, नागरिक लगानी कोषको एकांकी नागरिक लगानी योजनामा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । बिमकहरूले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरूको अग्राधिकार सेयरमा, वित्त कम्पनीको मुद्दती निक्षेपमा र पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा १०–१० प्रतिशत लगानी गर्न पाउँछन् भने उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्रमा ५ प्रतिशत र इन्भेस्टमेन्ट कम्पनीको सेयरमा २ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।

बिमा समितिको तथ्यांकअनुसार समितिले लगानीका लागि विविध क्षेत्र तोके पनि अधिकांश बिमकहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा सबैभन्दा बढी लगानी गरेका छन् । पाँच वर्षको अवधिमा नेपाल लाइफ, एसियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र प्राइम लाइफको लगानी ३ गुणाभन्दा धेरैले बढेको छ । राष्ट्रिय बिमा संस्थान लगानी भने १९ प्रतिशतले घटेको छ ।

त्यस्तै, मेट लाइफको लगानी करिब दुई गुणाले बढेको छ भने लाइफ इन्स्योेन्स कर्पोरेसनको करिब तीन गुणा र नेसनल लाइफ इन्स्योरेन्सको दुई गुणाभन्दा धेरैले बढेको छ । समितिको तथ्यांकअनुसार आव ०७१÷७२ मा कम्पनीहरूले ९३ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, आर्थिक वर्ष ०७०–७१ मा ७९ अर्ब १२ करोड, आर्थिक वर्ष ०६९–७० मा ६४ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेका थिए ।

बिमा ऐनअनुसार विमकहरूले लगानी योग्य रकमलाई समितिले तोकेका क्षेत्रमा लगानी गर्न पाउँछन् । जीवन बिमा कम्पनीको लगानी निर्देशिकाअनुसार निश्चित क्षेत्रमा निश्चित प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot