Logo

धमलाले भने,‘देश बनाउने युवाहरुले नै हो, अब युवा तात्नुपर्छ’



काठमाडौं, १० साउन । हिजोदेखि सुरु भएको दुई दिने दोस्रो ‘हेराल्ड म्यानेजमेन्ट फेस्टिवल्स् एण्ड ग्राण्ड मोटिभेश्नल सेमिनार’ आज सम्पन्न भएको छ ।
उक्त फेस्टिवल तथा सेमिनार काठमाडौंको कमलादिस्थित् नेपाल प्रज्ञा प्रतिष्ठानको हल र परिसरभित्र भएको हो ।

आजको सेसनमा तीन ख्याँतिप्राप्त व्यक्तित्वहरु क्रमशः पूर्वमन्त्री गगन थापा, पत्रकार ऋषि धमला र बैंकर अनिल केशरी शाहले मोटिभेश्नल स्पिच दिएका थिए । आयोजक संस्था युनिभर्सल टिच कन्सल्ट प्रा.लि.का प्रबन्ध निर्देशक लक्ष्मण लामिछानेले कार्यक्रम अत्यन्तै फलदायी भएको जनाए ।

मोटिभेश्नल स्पिच दिएका प्रमुख दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले अब युवाहरुले आँफै नेतृत्व लिन तयारी हुनुपर्नेमा जोड दिए । उनका अनुसार युवा पुस्ताले अब आँफै नेतृत्व लिनेगरि आफूलाई अहिलेदेखि नै प्रस्तुत गर्नुपर्नेछ ।

थापाले वि.सं. २०९० सालसम्म सम्पन्न देशको पूर्वमन्त्री बनिरहने कि गरिब देशको व्यक्ति भन्ने कुरा अब युवाहरुको हातमा रहेको समेत धारणा राखे ।
त्यस्तै क्लबका सभापति ऋषि धमलाले देश सुधार्ने अब युवाहरुको काँधमा आएको धारणा राखेका छन् ।

उनले भने,‘युवाहरु अब उठ्नुपर्छ, जुट्नुपर्छ, राम्रा राम्रा कलेजहरु स्वदेशमै छन्, देश बनाउन दक्ष जनशक्ति नेपालमै चाहिन्छ, एक दशकभित्रै देश बनाउन सकिन्छ, समय व्यवस्थापन गर्न सक्नुपर्छ, विश्वका राजनेताहरुले कसरी समय व्यवस्थापन गरेर सफल भएका छन्, त्यो हामीले हेर्नुपर्छ।’

मुलुकलाई समृद्धशाली बनाउनको लागि कुशल व्यवस्थापकको खाँचा रहेको समेत पत्रकार धमलाले औंल्याए । त्यस्तै उनले पछिल्ला समयमा प्रमुख दलहरुका विभिन्न बैठकहरुमा समय व्यतित हुने काममात्रै भएको गुनासो पोखे ।

उनले थपे,‘ठूला दलहरुका केन्द्रिय समितिको बैठकहरु निर्णय केन्द्रित हुनुपर्यो, सबैले बोल्ने कुरा ठिक होईन।’ उनले दलका शीर्ष नेताहरुपनि अब ‘एक्सन ओरियन्टेड’ हुनुपर्ने धारणा राखे ।

उनले व्यवस्थापन अध्ययन गरेका धेरै भन्दा धेरै नेपाली विद्यार्थीहरु विदेश अध्ययनको लागि मरिहत्ते गरिरहेकोमा गुनासो पोख्दै भने,‘व्यवस्थापन संकायका धेरै विद्यार्थीहरुले यतिवेला उच्च शिक्षाको लागि विदेश जान चाहिरेका छन्, यो ट्रेण्ड अत्यन्तै डरलाग्दो छ, यसले दक्ष युवा विद्यार्थीहरु सबै विदेश जाने देखियो, त्यसैले हाम्रो देशमै राम्रा राम्रा कलेजहरुपनि छन्, नेपाली युवा विद्यार्थीहरु अत्यन्तै मेहनती, लगनशील र जेहेन्दार समेत छन्।’

त्यस्तै बैंकर अनिल केशरी शाहले सम्पन्न देशको नागरिक बन्नको लागि सबैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान दिनुपर्ने धारणा राखे । उनले भने,‘हामी नेपालीहरु सक्षम छौं, तर समय व्यवस्थापन र उचित भूमिका पाउनुपर्छ, युनाईटेड भएर अघि बढ्यौं भने देश बन्छ।’

 



प्रतिक्रिया दिनुहोस्