Logo

प्रमुख तीन दलप्रति आक्रोषित हुँदै हृदेश त्रिपाठीले भने, – “धेरै बोल्न नलगाउनुस्, फेरी नाङ्गै पारिदिन्छु”



राष्ट्रिय जनता पार्टीको मागसँग संविधान संशोधन र चुनाव जोडिएको छ । संविधानन संशोन लगायतका अरु मागसमेत पूरा नभएसम्म प्रदेश नम्बर २ को चुनवामा पनि भाग नलिने अडान राजपाले लिइरहेको छ । यि लगायतका धेरै विषयमा ऋषि धमलाले राजपाका नेता हृदेश त्रिपाठीसँग कुरा गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली सेनामा किन समावेशी खोज्नुभयो ?
नेपाल राज्यका अन्तरवस्तुहरु मलाई राम्रोसँग थाहा छ । निजामति सेवालाई आरक्षण दिएपछि तत्कालिन मुख्य सचिवले के भनेका थिए मलाई थाहा छ । अब विग्रिनेभयो प्रशासनयन्त्र भनेका थिए । मैले भनेको थिएँ, “तपाईहरुले बनाउनुभएको प्रशासनयन्त्र यही होइन र ?” एउटा जाती र वर्गको कब्जामा हुँदा मात्रै राम्रो हुने नत्र नहुने ? अहिले नेपाली सेना पनि चरित्र अनुसार राष्ट्रिय बन्न सकेको छैन । प्रतिनिधि सभाले मेरै सङकल्प प्रस्ताव २०५३ सालमा पारित गरेको छ ।

सुरक्षा अङ्गमा समावेशी खोज्न मिल्छ ? यो त राष्ट्रिय हितका लागि बनाइएको हो नि ।
एकदम मिल्छ । एउटा समुहले वा नश्लले मात्रै राष्ट्रिय हित गर्न सक्छ ? जुन बेला तराईमा औलो उन्मुलन भएको थिएन, त्यसबेला त्यहाँ कोही जान सक्दैनथ्यो । त्यसबेला कसले गरेको थियो सिमाको सुरक्षा ? त्यही मधेशी र थारुहरुले गरेका थिए । राणाकालमा १४ कोषसम्म प्रहरी देखापर्दैनथे । त्यसबेला पनि सिमाको रक्षा मधेशीहरुले गरेका थिए । जब औलो उन्मुलन भयो, मधेश सुगम भयो, अनि मात्रै राज्यको उपस्थिती देखिएको हो । त्यसैले इतिहासप्रति बेइमानी गर्न हुँदैन ।

देश बनाउनका लागि खस र आर्यको भूमिका छैन ?
भूमिका छ, स्विकार गर्छु । सम्मान गर्छु । तर अरुको भूमिका इन्कार गरेकोमा म घृणा गर्छु । दक्षिणको सिमाना सुगौली सन्धीपछि किन बाङ्गोटिङ्गो भयो ? कोही माइकलाल छ बताउने ? नेपालभरका बुद्धिजिवीलाई म चुनौति दिन्छु ।

कसरी बाङ्गोटिङ्गो भयो ?
जब अंग्रेजले सबै तराई कब्जा गरे, चन्द्रशेखर उपाध्याय र गजराज मिश्र बेतियामा गएर पूरा तराई अन्नको भण्डार हो हामीलाई चाहियो भनेर मागे । त्यसबेला नेपाल र भारतमा सामन्तवाद थियो । उनीहरुले जमिनदारको मतसंग्रह गर्नुप¥यो भने । ९ जना मधेशी जमिनदारले ब्रिटिसको अधिनमा बस्नुहुँदैन भनेर कपिलवस्तुदेखि कोशीसम्मको दक्षिण सिमाना बनाएका हुन् । यो इतिहासमा मधेशीको भूमिका छैन ? त्यो सिमाना कसैको पूर्खा र बाबु बाजेले गरेका होइनन् ।

तपाईहरुको मागलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले राष्ट्रघाती छ भनेका छन् नि ?
ओलीसँग दन्त बझानमा सँगै राख्नुस् । लाइभ गरम् । म चुनौतिका साथ भन्छु, नेपालका कुनै पनि नेतासँग राखेर एक घण्टा लाइभ गरियोस्, मसँग बार्ता गरियोस् । यो चुनौति कोही मान्न तयार छ कि छैन ? हामी खाली सिसी, पुराना कागज बेच्ने मधेशी होइन ।

तपाईहरुमाथि आरोप त छ नि ?
कोही बौलायो भन्दैमा म टोक्न जान्न । म बौलाएको छैन ।

एमालेले त तपाईहरुको माग उचित छैन भनेर निष्कर्ष निकालिसक्यो ।
ठीक छ । एमाले पार्टीको आफ्नो धर्म हो । म त्यसलाई अहिले आलोचना गर्न चाहन्न । हाम्रो लागि कांग्रेस, एमाले र माओवादी तीनवटै सत्रु हुन् । तीनवटै दल मधेशविरोधी हुन् । जनजाती, थारु, मुस्लिम र परिवर्तन विरोधी हुन् । यथास्थितीवादी हुन् ।

संशोधन प्रस्ताव पारित नहुने सम्भावना देख्नुभएको हो ?
मैले त्यही सम्भावना देखेको छु । अहिले संविधान संशोधन हुँदैन ।

अब तपाईंहरु के गर्नुहुन्छ ?
संविधान संशोधन लगायतका माग पूरा नभएकाले हामीले तीनवटा प्रदेशको स्थानीय तहको चुनावमा भाग लिएनाँै ।

तर राजपाका नेताहरुले स्थानीय तहको चुनावमा भाग लिए नि ?
लिएका छैनन् ।

तपाईकै पार्टीकाले समेत उम्मेदवारी दिएका होइनन् ?
सामान्य तहका कार्यकर्ताले कि त चुनाव लड्ने वातावरण बनाइदिनुस्, नत्र अर्को पार्टीमा जान्छाँै भने । त्यसपछि स्वतन्त्र चुनाव लड्ने भए लड्नुस भन्यौँ ।

स्वतन्त्र रुपमा त धेरै ठाउँमा लडेन नि चुनाव ?
धेरै ठाउँमा होइन । खस आर्य पत्रकारिताले यो किन देखेन कि नवलपरासीको एउटा बुथमा जम्मा दुई भोट मात्रै खस्यो । अर्कोमा १८ प्रतिशत मत मात्रै खस्यो । यो कुरा अलजजिराले भन्न सक्यो । तर काठमाणडैका यि पत्रकार र च्यानलहरुले किन भन्न सकेनन् ?

एउटा बुथको उदाहरण दिएर मधेशको अवस्था चित्रित हुन्छ र ? समग्र मधेशबाट ७०–८० प्रतिशत मत खसेको होइन ?
यो कुरा कसले इन्कार गरेको छ ? तर मधेशी र थारु धेरै भएको ठाउँमा सैनिक कफ्र्यू लगाइयो ।

तपाईको क्षेत्रमा हरेक तह र तप्कामा प्रतिस्पर्धा गर्न सक्ने मान्छे छ ?
छ । पहाडी क्षेत्रका नेतालाई हामीले तराईमा चुनाव जिताएका छौँ । तराईका नेतालाई हिमाल पहाडमा टिकट दिएर जिताउन सक्छ ?

अहिलेको संविधान समावेशी छैन ?
संविधानमा भएर हुँदैन । व्यवहारमा हुनुपर्छ । पछिल्ला सरकारले राजदुत बनाउँदा कतिजना मधेशीलाइृ बनायो ?

राजदुतमा पनि समावेशी चाहिन्छ र हाम्रो देशमा ?
अचम्म छ ।

कुटनीतिक क्षेत्रमा समावेश गर्न मिल्छ र ?
मेवपावर व्यवसाय गरेका व्यक्ति कुटनीतिज्ञ हुन् ? मलाई धेरै बोल्न नलगाउनुस् । फेरी म नाङ्गै पारिदिन्छु ।

आज नाङ्गो पारिदिनुस्, नेताहरु अरुलाई नाङ्गो पार्न खोज्दा आफैँ नाङ्गिन्छन् नि ?
पैसा लिएर राजदुत बनाइएको छ । राजदुत पद बेचिएको छ । कुन कुटनीतिज्ञलाई अनुभवको आधारमा राजदुत बनाइएको छ ? विभिन्न पेशाकर्मीहरुलाई ल्याएर पद दिइएको छ ।

अब मधेशी जनता चुनावमा जान तयार छन् । तपाईको पार्टी २ नम्बर प्रदेशको चुनावमा सहभागि हुन्छ कि हुँदैन ?
संविधान संशोधन लगायतका मागहरु पूरा नभएसम्म कसरी चुनावमा जाने ?

तपाईहरुकै लागि सरकारले चुनाव असोजमा पु¥याएको होइन ?
हाम्रो कारणले होइन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले त्यही भन्नुभएको छ ।
नेपाली कांग्रेसकै कारण चुनाव सारिएको हो । २ नम्बर प्रदेशमा कांग्रेसको बैठक बस्नै सकेको थिएन । उम्मेदवार तय गर्नै सकेका थिएनन् ।

तपाईहरुले नै २ नम्बर प्रदेशको चुनाव सार्ने प्रस्ताव गर्नुभएको होइन ?
गलत कुरा । अर्को कुरा नेपाली कांग्रेसको चाहना राजपाले चुनावमा भाग नलियोस भन्ने छ । भाग लिएन भने कांग्रेसलाई बढि मत आउँछ भन्ने सोच थियो । तर राजपाले भाग नलिदा एमालेलाई फाइदा भयो ।

तर राजपालाई चुनावमा जानुपर्छ भन्ने दबाब त छ नि ?
हाम्रो बारेमा तपाईहरु किन चिन्तित हुनुहुन्छ ? हाम्रो दबाबलाई हामीलाई नै सहन दिनुस् न ।

मतदाताहरु त तपाईहरुलाई भोट दिएर जिताउन चाहन्छन् । होइन र ?
१,२ र ७ नम्बर प्रदेशको चुनावमा पनि तपाईहरुले खुब दबाब दिनुभएको थियो । तर दबाब अहिले पनि छैन । राजपाले आफ्नो निर्णय आफैँ गर्छ । २ नम्बर प्रदेशको चुनावमा पनि हामी भाग लिदैनौँ । हाम्रा माग पूरा नभएसम्म चुनावमा जादैनौँ ।



प्रतिक्रिया दिनुहोस्