Logo

संविधान संशोधन प्रस्ताव पेश गरियो भने देश द्धन्द्धतर्फ जाने चेतावनी



साउन ११, काठमाण्डौ । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले प्रदेश नम्बर २ को चुनावका लागि पार्टी तयारी अवस्थामा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले निर्वाचनमा सहयोग गर्न सक्ने र भूमिका खेल्न सक्ने नेताहरुलाई खटाउने तयारी भइरहेको जानकारी दिएका छन् । ज्ञवालीले भने, “प्रदेश नम्बर २ देशकै महत्वपूर्ण र संवेदनशील प्रदेश हो ।” त्यहाँ पनि नेकपा एमाले पहिलो पार्टी बन्ने नीति अनुसार तयारी भइरहेको जानकारी ज्ञवालीले दिएका छन् ।
उनले चुनावका लागि केन्द्रिय स्तरको सम्पर्क कार्यालयको जरुरी नभएको दाबी गरेका छन् ।
संविधान संशोधनको प्रस्ताव नेकपा एमालेसँग परामर्श गरेर नल्याइएकाले समस्या भएको ज्ञवालीको तर्क छ । ज्ञवालीले भने, “मधेशका समस्या समाधान गर्नका लागि ल्याइएको होइन ।”
नेपाली कांग्रेसले संविधान संशोधन भए जस आफुले लिने र नभए दोष एमालेलाई दिने गरी चुनावी रणनीतिका रुपमा ल्याएको नेता ज्ञवालीले आरोप लगाएका छन् ।
उनले अहिले संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न सकिने अवस्था नरहेको भन्दै यदी पेश गरियो भने देश द्धन्द्धतर्फ जाने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री बन्नका लागि शेरबहादुर देउवाले सम्झौता गरेको र त्यही सम्झौता पूरा गर्न संविधान संशोधन गर्न लागिएको ज्ञवालीको आरोप छ ।
एमाले संविधान संशोधनको विपक्षमा नरहेको स्पष्ट पार्दै ज्ञवालीले भने, “ अहिलेको प्रक्रिया र विषय गलत छन् ।”
अहिले तत्काल संविधान संशोधन निर्णयार्थ पेश हुन नसक्ने र भएमा पनि पारित नहुने ज्ञवालीको ठोकुवा छ ।
निर्वाचनको मुखमा संविधान संशोधन गर्नै नमिल्ने तर्क ज्ञवालीले गरेका छन् ।

प्रदेश नम्बर २ मा पनि पहिले नै चुनाव भएको भए जनप्रतिनिधिले विकास निर्माणका काम गर्न पाउने ज्ञवालीको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्