Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिने र संशोधन प्रस्तावबाट ब्याक हुने तयारीमा राप्रपा



काठमाडौं, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

मन्त्रिपरिषद बिस्तारमा आफ्नो पार्टीलाई नसमेटेपछि राप्रपाका अध्यक्ष कमल थापा सरकारसँग असन्तुष्ट बनेपछि यस्तो कुरा बाहिरिएको हो । मन्त्रिपरिषद विस्तार भएको केही मिनेटमै राप्रपाले विज्ञप्ति निकालेर सरकारसँग वार्ता गर्न बनाइएको समिति भंग गरेको घोषणा गरेको छ ।

त्यस्तै पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठले हिन्दूराष्ट्र पूर्नस्थापना गर्ने गरि सरकार अघि बढ्यो भनेमात्रै संशोधन प्रस्तावमा समर्थन गर्ने नभए समर्थन नगर्ने राप्रपाको तयारी रहेको जानकारी दिए । उनका अनुसार राप्रपा अब सरकारमा नजाने पक्का भएको छ ।

तीन सदस्यीय वार्ता समिति बुधबार भंग भएको छ । राप्रपा अध्यक्ष कमल थापाले उपप्रधान मन्त्रीसहित पाँच मन्त्रालय मागेका थिए । तर प्रधानमन्त्री देउवाले उपप्रधानबाहेक चार मन्त्रालय दिने बताएका थिए । मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि राप्रपाविना प्रधानमन्त्री देउवाले बुधबार सरकार बिस्तार गरेका छन् ।

राप्रपाका शीर्ष नेता दिलनाथ गिरीले सत्तारुढ दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राप्रपालाई सरकारमा सहभागी हुन नदिएको आरोप लगाएका छन् । त्यस्तै निधिले आफ्नो पार्टीलाई कमजोर र फुटाउनको लागि समेत षड्यन्त्र गरेको उनको गम्भिर आरोप थियो ।

सरकारमा कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तबाट १९ मन्त्री थपिएका छन् । यससँगै देउवा नेतृत्वको सरकार २७ सदस्यीय बनेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे पार्टीको कार्यसम्पादन समितिको बैठकले निर्णय लिने राप्रपा नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्