काठमाडौँ, ११ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सबै क्षेत्रलाई समेट्ने पर्यटन नीतिको खाँचो रहेको बताउनुभएको छ ।
मन्त्री देवले आज मन्त्रालयमा पदबहाली गर्दै संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा गर्न बाँकी रहेका कामलाई पूरा गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
उहाँले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको विकासका लागि दुई महिनासम्म गर्ने कामको कार्ययोजना एक हप्ताभित्र आफूलाई दिन कर्मचारीसँग आग्रह गर्नुभयो । “म शुरुमा दुई महिनाको कार्ययोजनाअनुसारको काम हेर्छु, राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डित गर्छु”– मन्त्री देवले भन्नुभयो ।
मन्त्री देवले मुलुकमा कैयौँ सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक महत्व भएका स्थान हुँदाहुँदै पनि ओझेलमा परेको भन्दै यसको उपयोगका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । “सरकारी काम कहिले जाला घाम भन्ने प्रवृत्तिको अन्त्य भएमा मात्रै देशको विकास हुन्छ”– उहाँले भन्नुभयो ।
उहाँले मन्त्री र कर्मचारी ‘एक रथका दुई पाङ्ग्रा’ भएको र देशको प्रगतिका लागि मन्त्री र कर्मचारी एकसाथ रहनुपर्नेमा जोड दिनुभयो ।
पदबहालीका क्रममा मन्त्री देवले पर्यटन नीति तर्जुमा कार्यदल गठनसम्बन्धी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले पहिला पनि पर्यटन मन्त्रालयमा काम गरेको अनुभव मन्त्री देवसँग भएको भन्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । रासस