Logo

नवनियुक्त उर्जामन्त्री महेन्द्रबहादुर शाहीको प्रतिबद्धता : लोडसेडिङ हुन दिन्न



शेरबहादुर देउवा नेतृत्वको मन्त्री मण्डलमा महत्वपूर्ण मानिएको उर्जा मन्त्रालयको जिम्मा महेन्द्रबहादुर शाहीलाई दिइएको छ । विशेषगरी लोडसेडिङ हुन नदिने चुनौति उर्जामन्त्री सामु छ । समग्र जलविद्युत क्षेत्रको विकासका बारेमा ऋषि धमलाले उर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग अन्तरवार्ता लिनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई उर्जामन्त्री बन्नुभएको छ । कार्यसुचि केके छन् ?
मैले चुनौतिपूर्ण मन्त्रालयको जिम्मा पाएको छु । म सधैँ चुनौतिको सामना गर्न रुचाउने भएकाले सबैखाले चुनौतिको सामना गर्न सक्छु । विद्युत उत्पादन बढाउने र लोडसेडिङ हुन नदिने नै मेरो प्रमुख लक्ष्य हो । विद्युत उत्पादन बढाउनका लागि नीतिगत सुधार गर्ने पक्षमा छु ।

केही समय लोडसेडिङ नभएको नेपालमा पुनः त्यसको संकेत देखिएको छ । लोडसेडिङ हुन नदिन के योजना छन् ?
अब लोडसेडिङ हुँदैन । म आजकै दिनदेखि काम सुरु गर्छु । विद्युत भारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विद्युत प्राधिकरणसँग छलफल गर्दैछु । चोरी र चुहावट रोक्नका लागि मेरो पहल हुनेछ । त्यस्तै प्राविधिक चुहावटलाई पनि नियन्त्रण गर्नेछु । कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने कुरामा म प्रतिवद्ध छु । देशको कुनै पनि ठाउँमा लोडसेडिङ हुँदैन । विद्युत आपूर्ति सहज हुन नदिने सबै तत्वलाई कारबाही गर्छु ।

जलविद्युत उत्पादनका लागि के गर्नुहुन्छ ?
उर्जा उत्पादन नबढेसम्म देश विकास हुन सक्दैन । त्यसैले उत्पादन बढाउनका लागि सहज वातावरण बनाएर लगानी आकर्षित गर्ने छु । आवश्यकता अनुसार नीतिगत सुधारतर्फ पनि मेरो ध्यान केन्द्रित हुनेछ ।

नेपालमा जनताको मन जित्न गरी काम गर्न त चुनौति छ । कसरी काम गर्नुहुन्छ ?
मुख्य कुरा हाम्रो सोच सकरात्मक हुनु जरुरी छ । हामीले जहिले पनि सोच्ने भनेको राष्ट्र र जनताको हितमा हो । राष्ट्र र जनताको हितमा काम गर्नका लागि कुनै पनि कुरासँग डराउनु हुँदैन । म व्यक्तिगत स्वार्थका लागि काम गर्दिन । देश र जनताको हितमा काम गर्नुपर्छ भनेर कर्मचारीहरुलाई पनि भनिसकेको छु ।

भाषण गर्न जस्तो सजिलो छैन देश र जनताको हितमा काम गर्न । यो कुरा थाहा छ तपाईलाई ?
समाजमा रहेका विकृतिको अन्त्य गर्नु अति आवश्यक छ । स्वार्थ पूरा गर्ने सोच मेरो मनमा छैन । म देश र जनताको हित मात्रै सोच्दछु । उर्जा क्षेत्रमा देखिएका विकृति पनि त्यसरी नै हटाउनु जरुरी छ ।

बुढिगण्डकी अयोजना विवादमा छ । अब के गर्नुहुन्छ ?
बुढिगण्डकी महत्वपूर्ण आयोजना हो । यसका बारेमा सबै पक्षसँग छलफल गरेर अघि बढ्छु । म नेपालमा अन्तराष्ट्रिय लगानी ल्याउनुपर्छ भन्ने मान्यतामा छु । विधि र प्रक्रियाका विषयमा धेरै कुरा बुझ्न बाँकी छ । तर देश विकासका लागि विदेशीको लगानी आवश्यक छ ।

बुढिगण्डकी आयोजना चिनिया कम्पनीलाई बनाउन दिएको भनेर आलोचना भएको छ । अब के गर्नुहुन्छ ?
मुलुकको हितमा छ वा अहितमा छ भन्ने कुरा महत्वपूर्ण हो । अर्को कुरा विधि र प्रक्रिया हेर्नुपर्छ । ठेक्का पाएको व्यक्ति वा कम्पनीले काम गर्न नसक्ने देखियो भने खारेज हुन्छ । सबै कुरा अध्ययन गरेर काम गर्छु । आयोजनाको सम्बन्धमा राजनीति गर्न दिन्न ।

आयोजना पीडितले मुआब्ज नपाएको गुनासो गरेका छन् । यसबारे केही सोच्नुभएको छ ?
मैले सबै कुराको जानकारी लिइसकेको छैन । अब पीडित जनता र अन्य सम्बन्धित व्यक्ति र निकायसँग छलफल गरेर समस्याको समाधान गर्छु ।

कर्णाली क्षेत्रका जनताको अपेक्षालाई कसरी सम्बोधन गर्नुहुन्छ ?
म आफै कर्णाली क्षेत्रबाट प्रतिनिधित्व गरेको व्यक्ति हुँ । त्यसैले त्यस क्षेत्रका जनताले केही अपेक्षा पनि गरेका छन् । मैले कर्णाली क्षेत्रमा सम्भव भएसम्म जलविद्युत उत्पादनको योजना बनाउने छु । माथिल्लो कर्णाली, मुगु जलविद्युत, बहुउद्देश्यीय चिसापानी परियोजना लगायतका योजना अघि बढाउनेछु ।



प्रतिक्रिया दिनुहोस्