Logo

सेनाको वृक्षरोपण अभियान



गाईघाट (उदयपुर), १२ साउन । नेपाली सेना पर्यावरण सुरक्षा गण श्रीनम्बर १ सिन्धुलीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ लालपतास्थित बुर्जाकाल्ला क्षेत्रको २० हेक्टर क्षेत्रफलको डाँडा तथा खाली जग्गामा २० हजार वृक्षरोपण गर्ने अभियान शुरु गरेको छ ।

सेनाका बलाध्यक्ष (रथी) पूर्णचन्द्र थापाले बुधबार एक औपचारिक कार्यक्रमबीच वृक्षरोपण कार्यक्रमको औपचारिक प्रारम्भ गर्नुभएको हो ।

राष्ट्रपति चुरे संरक्षण विकास समितिको कार्यक्रमअन्तर्गत सेनाले उक्त २० हेक्टर क्षेत्रफलको खाली डाँडा जग्गामा वृक्षरोपण कार्य थालेको सेनाले बताएको छ ।

वृक्षरोपणका लागि अहिले ५० जना सेनाका जवान परिचालन गरी सो कार्यको प्रारम्भ गरिएको र एक हप्ताभित्र उक्त क्षेत्रमा वृक्षरोपण कार्यक्रम पूर्णरुपमा सम्पन्न गर्ने सेनाले जनाएको छ ।

अहिले वृक्षरोपणमा प्रयोग गरिएका विभिन्न वनस्पतिका प्रजातिमध्ये हर्रो, खयर, अमला, सखुवा, सतीसाल, सिमल, साँझ, बाँस, खमारी, जामुन र सिसौलगायत प्रजातिका बिरुवा रहेका छन् ।

उक्त उदयपुरको चुरे क्षेत्रको खाली डाँडा तथा खाली जग्गामा वृक्षरोपण गर्नाले यस क्षेत्रको भूक्षय नियन्त्रणका साथै लोप हुन लागेको वनस्पतिको संरक्षण तथा जंगली जनावरको संरक्षण वासस्थानका लागि पनि विकास हुने सेनाले अपेक्षा गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्