Logo

कलिलो उमेरका डाक्टरको अपत्यारिलो कथा



भनिन्छ– बिहानीले दिउसोको झल्को दिन्छ । हुन पनि अपवादबाहेक दिनको मौसम कस्तो होला भन्ने पूर्व अनुमान बिहान नै गर्न सकिन्छ । हो– उहाँमा यही लागू भयो । भविष्यमा घरपरिवारको इज्जत, समाजको जिम्मेवार व्यक्तित्व, बिमारीहरूका ‘भगवान्’ र राष्ट्रको ‘धन’ बन्ने छाँट उहाँमा बाल्यकालबाटै देखिएको हो । र त बिरलै मानिसमा लागू हुने तीन वर्षको अबोध उमेरबाटै पाठशाला जान थाल्नुभयो उहाँ । सानै उमेरमा विभिन्नखाले बाधा–अवरोध, आरोह–अवरोह छिचोल्दै डाक्टर बनेर हाल एपोलो पोलिक्लिनिक मैतीदेवी, अपाङ्ग नवजीवन केन्द्र थली, पिपल्स जेनरल हस्पिटल नयाँबजार, नेशनल बाथ रोग सेन्टर रातोपुलमा सेवा पु¥याइरहनुभएका फिजियोथेरापी डा. सतीशकुमार साहको यथार्थ जीवनकथा हो यो ।

सतीशको जन्म विक्रम सम्वत् २०४५ जेठ १ गते धनुषा जिल्लाको जनकपुर नगरपञ्चायत वडा नं. ४ मा श्री रामनाथप्रसाद साह र सावित्रीदेवीका दुई छोरा तथा एक छोरीमध्ये तेस्रो सन्तानको रूपमा भएको हो । उहाँका दिदी ममता र दाइ मनीष हुनुहुन्छ । मध्यमवर्गीय परिवारमा जन्मनुभएका सतीशको बाल्यकाल सामान्य ढंगबाट बित्यो । त्यतिबेला उहाँहरूको संयुक्त परिवार थियो । एक किसिमबाट हेर्ने हो भने दुधे बालक छँदै उहाँलाई विद्यालय भर्ना गरियो । जब उहाँ तीन वर्षको हुनुभयो– तब घरबाट पैदल करिब एक किलोमिटरको दूरीमा रहेको तत्कालीन मुनलाइट इङलिस सेकेन्डरी बोर्डिङ स्कुलमा पु¥याउन थालियो ।

सानैदेखि अध्ययनमा अब्बल उहाँ विलक्षण प्रतिभाको प्रतिमूर्तिमात्रै होइन, हक्की–विद्रोही स्वभावको पनि हुनुहुन्थ्यो । त्यही भएर होला– आफूलाई चित्त नबुझेको कुरामा उहाँले कहिल्यै र कसैसँग सम्झौता गर्नुभएन । सतीशले कक्षा तीन सम्ममात्रै त्यहाँ अध्ययन गर्नुभयो । त्यसपछि भने उहाँलाई त्यहीँनजिकैको हिमाली बोर्डिङ स्कुलमा भर्ना गरियो । त्यहाँ पनि उहाँले तीन वर्षभन्दा अध्ययन गर्नुभएन । अनि कक्षा सातमा भर्ना हुनुभयो– मोनास्टिक इङलिस बोर्डिङ स्कुलमा । अन्ततः वि.सं.२०५९ मा उहाँले त्यहीँबाट एसएलसी पास गर्नुभयो । प्लस टु भने उहाँले जनकपुरमा रहेको मोडर्न क्याम्पसबाट गर्नुभयो । यति धेरै स्कुल फेर्नुको कारण के हो ? भन्ने जिज्ञासामा सतीश स्पष्ट पार्नुहुन्छ– ‘सुरुमा सानो भएकाले घरनजिकैको स्कुलमा राख्नु बेस भन्ने भयो पछि म ठूलो, बुझ्ने हुँदै जाँदा यहाँभन्दा कहाँ राम्रो पढाइ छ भनेर फेर्ने काम गरियो ।’

प्रसंग वि.सं.२०६१ को हो– अब भने सतीशको दैनिकीमा आमूल परिवर्तन आयो । उहाँ जनकपुरबाट मेडिकल विषय अध्ययनका लागि काठमाडौं छिर्नुभयो । राजधानीे आगमनपूर्वको आफ्नो कल्पनाबारे उहाँ स्मरण गर्नुहुन्छ– ‘हामी सानो र निश्चित ठाउँमा थियौं, देशकै राजधानी व्यापक अनि धेरै पक्षमा अवसरयुक्त होला भन्ने सोचको थिएँ । तर, त्यस्तो रहेछन् ।’ काठमाडौं आएपछि उहाँले होलिजेम्स होस्टल बसेर एक वर्ष मेडिकलको कोचिङ कक्षा लिनुभयो । त्यसपछिको परीक्षामा सतीशको नाम दुईपटक निस्कियो । तर, बिडम्बना उहाँ अध्ययनका लागि देशबाहिर जान पाउनुभएन । यसको मुख्य कारण भनेको नेपालमा दीर्घकालीन रोग बनेको राजनीतिक तानातान र घुस्याहा प्रवृत्ति नै थियो । ‘शिक्षा मन्त्रालयको कोटामा अध्ययन गर्न बंगलादेश जान त मिल्ने भयो । तर, राजनीतिक भागबन्डा मेरा लागि बाधक बन्यो’ उहाँ आक्रोश पोख्नुहुन्छ– ‘फेरि मैले ठूलो रकम चन्दा किन कसैलाई बुझाउने ?, अध्ययन शुल्क पो तिर्ने हो ।’ एमबीबीएस पढ्ने प्रयास असफल भएपछि उहाँको अध्ययन सोच नै परिवर्तन भयो । अनि नेशनल मेडिकल कलेज वीरगन्जमा बुबाले रोक्नुभएको सिट नै रद्द गरेर सतीश ‘फिजियोथेरापी’ अध्ययनका लागि भारतको बैङलोरस्थित ‘रमाइया मेडिकल कलेज’ जानुभयो । चार वर्ष छ महिनाको कोर्स पूरा गरेर उहाँ वि.सं.२०७१ मा नेपाल फर्कनुभयो ।

उसो त नेपाल आएपछि सतीशलाई कामको ओइरो लाग्यो । यद्यपि उहाँले सुरुमा मैतिदेवीमा रहेको एपोलो पोलिक्लिनिकमा मात्रै सेवा दिन थाल्नुभयो । त्यसको केही समयपछि भक्तपुरको साँगास्थित पुर्नस्थापना केन्द्रको स्पाइरल इन्जोरीमा चार महिना काम गर्नुभयो । त्यही हाराहारीमा नेपालमा विनाशकारी भूकम्प आयो । त्यसबाट रत्तिभर विचलित नभई उहाँ बिमारीको सेवामा नै अहोरात्र समर्पित हुनुभयो । र त काठमाडौंकै थलीमा रहेको अपाङ्ग नवजीवन केन्द्रमा पनि सेवा गर्न थाल्नुभयो । अझैसम्म सेवामा निरन्तर लागिरहनुभएको छ उहाँ त्यहाँ । पाँचदेखि १५ वर्ष उमेरका ४० जना बिमारी रहेको सो केन्द्रमा पारिवारिक आर्थिक हैसियत दयनीय भएका व्यक्तिलाई खान, बस्न, शिक्षा, स्वास्थ्य–उपचार निःशुल्क गरिएको छ । सतीशसहित तीनजना डाक्टरले स्पिच र फिजियोथेरापी गराइरहनुभएको छ । यति हुँदाहुँदै पनि उहाँ आफ्नो पेशागत क्षेत्रको प्रणालीप्रति भने सन्तुष्ट हुनुहुन्न । किन त ? ‘फिजियोथेरापी कलेज छन् । तर, त्यहाँ प्रयोगात्मक र व्यावहारिक ढंगले गरिँदैन– अन्यत्र नै पठाइन्छ । अभ्यासबिनाको काम तथा पेशा कति बलियो र दक्ष हुन्छ ? उहाँ प्रतिप्रश्न गर्नुहुन्छ ।

सानै उमेरमा गहन, जिम्मेवार र परिपक्व व्यक्तित्व बन्नुभए पनि सतीशको अहिलेसम्म लगनगाँठो कसिएको छैन । अब त विवाह गर्ने होला नि, त्यसबारे केही सोच छैन ? भन्ने जिज्ञासामा उहाँ मुस्कुराउँदै भन्नुहुन्छ– ‘विवाह निकट भविष्यमा हुन्छ । तर, तयारी भने छैन । मलाई मन परेको, परिवारलाई मन परेको, मेरो भावना बुझ्ने व्यक्तिसँग विवाह हुनेछ । दाइको विवाह हुँदैछ अनि त्यसपछि मेरो हुन्छ । बैंकिङ भेत्रमा काम गर्ने केटी साथी हुनुहुन्छ । फोन वार्ता र भेटघाट हुन्छ, विवाहप्रति हामी दुईजना नै राजी छौं ।’



प्रतिक्रिया दिनुहोस्