Logo

श्रावण शुक्ल पञ्चमीमै रक्षाबन्धन मनाइँदै (फोटोफिचर)



काठमाडौँ, १३ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन अर्थात जनै पूर्णिमा आज श्रावण शुक्ल पञ्चमीका दिन मनाइँदैछ।

आजको दिन मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण सहित ब्राह्मण-पुरोहितले यजमानको नाडीमा बाँधेर मनाउँदै छन्। यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता पनि छ।

आज बिहानैदेखि रक्षा बन्धनका लागि विभिन्न मन्दिरमा भिड लागेको छ। काठमाडौँ पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाका जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा समेत विहानै देखि भिड्छ।

त्यस्तै आजकै दिन तागाधारीले आफ्नो जनै फेर्ने प्रचलन रहेको छ। यसका लागि बिहिबारदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान समेत गर्ने गर्दछन्।

यही साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने ‘सत्कर्म रत्नावली’, ‘निर्णय सिन्धु’, ‘कृत्यबाटिका’लगायत ग्रन्थमा उल्लेख गरिएकाले आज यो पर्व मनाइँएको हो।

तस्बिर- मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्