Logo

विश्व बाघ दिवशः बाघको संरक्षण चुनौतीपूर्ण



नारायण ढुंगाना : रत्ननगर (चितवन), १४ साउन । सन् २०१३ को राष्ट्रिय तथ्याँकअनुसार नेपालमा रहेका १९८ बाघमध्ये सबैभन्दा बढी १२० बाघ चितवन निकुञ्जमा छ । बाँकेमा चार, पर्सामा सात, शुक्लाफाँटामा १७ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा ५० बाघ रहकोमा अहिले बढेर ६२ पुगेको छ । चितवनमा आज बाघ दिवस मनाइएको छ ।

चितवनको सौराहामा भजनचुड्कासहित बाघ संरक्षणका कार्यक्रम गरियो । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत बाघ संरक्षण उपसमितिले सौराहामा चेतनामूलक ¥यालीसहित कार्यक्रम गरेको थियो

बाघ पाइने ठाउँमा अरु प्रजाति सजिलै पाइन्छ । बाघ जहाँ छ, त्यो वातावरण स्वस्थ हुन्छ । त्यसैले आजको सातौँ विश्व बाघ दिवशलाई ‘स्वास्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित देशैभरका संरक्षणकर्मी केन्द्रित भएका छन् ।

सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ । २००९ मा १२१ रहेको बाघ सन् २०१३ को गणनामा १९८ पुगेको छ । अहिले बाघ पाइने हरेक निकुञ्ज र आरक्षमा बाघको संख्या बढेको अनुमान विभागको छ । अब लक्ष्य पूरा गर्ने नेपालमा २४२ बाघ बनाउनुपर्ने चुनौती छ ।

यही वर्ष नेपाल र भारत दुवै देशले एकैसाथ बाघको गणना गरेर तथ्याँक निकाल्दै छन् । अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको संख्या दोब्बर पार्ने लक्ष्य पूरा हुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ ।
बाघको संख्या बढाउन उसको बासस्थानसँगै आहाराप्रजाति समेत जोगाउन कार्यक्रम केन्द्रित हुनुपर्छ ।

बाघ जोगाउनका लागि मुख्य समस्या चोरी शिकार हो । त्यसपछि वन विनाश, मिचाहा प्रजातिका झार, अतिक्रमण, भौतिक पूर्वाधार, जैविक मार्गका सडकलगायत समस्या छन् ।

जलवायु परिवर्तनका कारणले पनि अहिले बाघले बासस्थान परिवर्तन गर्ने अवस्था देखिएकाले चुरे क्षेत्रको संरक्षणतर्फ पनि विभागले कदम चालेको बताउनुहुन्छ निकुञ्ज विभागका संरक्षण शिक्षा अधिकृत विष्णु श्रेष्ठ ।

सबैभन्दा बढी बाघ पाइएको चितवन निकुञ्जले अघिल्लो वर्ष विश्व मै बाघ संरक्षणका लागि उत्कृष्ट ‘क्याट अवार्ड’ समेत पाएको छ । मुख्य गरी वासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षणसँगै तस्कर नियन्त्रण, घाँसे मैदान, पानी पोखरी व्यवस्थापन तथा विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी संरक्षण अभियान चलाएकाले यो सफलता पाएको हो ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल सीमित स्रोत साधनलाई अधिकतम प्रयोग गरेर सबैको हातेमालोबाट यो सफलता प्राप्त भएको उल्लेख गर्नुहुन्छ ।

पछिल्लो समयमा वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि समस्याको रुपमा आएको छ । हालै एउटा विज्ञ समूहले गरेको अध्ययनमा चितवन निकुञ्जका पाँच प्रतिशत बाघले मानवीय जोखिम बढाएको देखाएको छ ।

मुख्य कारण भने आफ्नो क्षेत्र निर्धारण गर्न नसकेका बाघ भएकाले तिनीहरुका लागि जाने मार्ग खुला गर्नुपर्ने अवस्था आएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्रमुख तथा बाघविज्ञ डा चिरञ्जीवी पोखरेल बताउनुहुन्छ ।

बाघ आफैँमा लजालु र मानिस देखे भाग्ने प्रजाति हो । “उसले आफ्नो क्षेत्र बनाउनका लागि जाने क्रममा बस्ती आइपुग्छ र जम्काभेट हुँदा मानिसमाथि आक्रमण गर्छ, बाघको आनिवानीबारे डा पोखरेलले भन्नुभयो, मान्छेले नै उसको क्षेत्र बिगारेकाले समस्या आएको हो ।” अब हामीले नै उ हिँड्ने बाटोलाई सहज पार्नुपर्ने तर्क डा पोखरेलको छ ।

बाघ हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण हामी सबैको कर्तव्य भएको बाघ संरक्षण उपसमितिका संयोजक जितु तामाङ बताउनुहुन्छ । चितवनमा समुदायसँगकै हातेमालोमा बाघ गैँडाको संरक्षण प्रभावकारी भइरहेको छ । मृगकुञ्ज उपभोक्ता समितिका सचिव तथा क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनाल संरक्षणले नै पर्यटन जोगाउने बताउनु हुन्छ ।

एकजना चराविज्ञ टीका गिरी बाघ संरक्षण हुँदा हरेक प्रजाति संरक्षण हुने बताउनुहुन्छ । समुदाय अहोरात्र संरक्षणमा जुटेको भन्दै उहाँले बासस्थान र आहारा प्रजाति जोगाउनु आजको चुनौती भएको उल्लेख गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्