जर्मन, १४ साउन । गैरआवासीय नेपाली संघ (एनआरएन) को दशौं क्षेत्रिय युरोप भेलामा जर्मनीमा सदस्यतासम्बन्धी बहसको सुरु भएको छ ।
“युरोपका नेपालीको एकता ः समृद्ध नेपालको आवश्यकता” नाराका साथ शनिबारदेखि जर्मनीमा युरोपभर रहेका गैरआवासी नेपालीहरूको दुईदिने बृहत् भेला सुरु भएको छ ।
दुईदिने भेलामा सहभागी ५ सयभन्दा बढी गैरआवासीय नेपालीहरूले विश्वका विभिन्न मुलुकमा आफूहरूले आर्जन गरेको पुँजी र सीप नेपालको समृद्धिमा कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारेमा विचारविमर्श सुरु गरेका गरेका छन् । दुईदिने छलफलको निचोडपछि गैरआवासीय नेपाली संघको १० र्औ क्षेत्रीय भेला तथा ८ औं युरोपियन क्षेत्रीय महिला सम्मेलनले सदस्यतासम्बन्धी बहसलाई जोड दिने एनआरएनका पूर्व पदाधिकारीहरुले बताएका छन्।
बैठकमा विशेष गरेर विदेशमा अध्ययनका लागि पुगेका विद्यार्थीहरुलाई सदस्य बनाउने की नबनाउने भन्नेमा केन्द्रित हुने छ । एनआरएनले सार्क मुलुकबाहेकका मुलुकमा बसोबास गर्ने नेपालीलाई गैरआवसीय नेपाली मान्न सकिने बताउँदै आएको छ।
गैरआवसीय नेपाली संघको एने २०६४ अनुसार सबैलाई मान्न नसिकेने बताइएको छ। त्यसकारण यसका अभियान्ताहरुले सबैलाई सदस्य बनाउन ऐन संशोधन गर्नुपर्ने बताउँदै आएका छन्।
एनआरएनए पूर्वपदाधिकारीका अनुसार सुरुमा (सन् २००३ मा) एनआरएनको सदस्य बन्नका लागि सार्क मुलुकभन्दा बाहिरी मुलुकमा ५ महिना बस्नुपर्ने प्रावधान थियो। सार्क मुलुकभन्दा बाहिर बस्ने जुनसुकै नेपाली( सरकारी कर्मचारीबाहेक) अन्यलाई सदस्य बनाउन मल्निे व्यवस्था रहेको थियो।
तर पछि सन् २०१३ मा सार्क मुलुकभन्दा बाहिर कम्तिमा दुई वर्ष बसेको हुनुपर्ने प्रावधान ल्याइयो। त्यतिबेला पनि विद्यार्थीलाई र सरकारी कर्मचारीलाई एनआरएनमा समावेश गर्ने भन्ने स्पष्ट व्यवस्था थिएन।
आजको बैठकमा एनआरएनका अन्तराष्ट्रिय सल्लाहकार डा. हेमराज शर्माले विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई प्रारम्भिक सदस्य बनाउन सकिने धारणा अघि सारेका छन् ।
उनले सन् २०१३ को अधिवेशनले विद्यार्थीलाई सदस्य बन्न नसन्ने व्यवस्था गरेको जनाए। उनले आफूहरुले परराष्ट्र मन्त्रालयलाई यो प्रावधान नहटाउन अनुरोध गरेको ड्राफ्टसमेत आफूसँग सुरक्षित रहेको स्पष्ट पारे । उनले भने,‘‘सन् २०१३ को अधिवेशनले विधानबाट विद्यार्थीहरुलाई हटाउँदा हामीले पूर्णतः नहटाऔं, त्यसलाई प्रारम्भिक सदस्यका रुपमा राखौं भनेर परराष्ट्र मन्त्रालयमा पठाएको ड्राफ्ट हामीसँग अझै सुरक्षित छ।’
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको सम्बोधनको पूर्णपाठ:
यो मेरो नेतृत्वमा पनि भएको हुनाले मैले बोल्नै पर्ने भो । साथीहरु यो गैर आवासीय नेपाली अभियानबाट सुरु भएको थियो । र, अहिलेपनि भन्छु यो संस्था भन्दा बढी अभियान हो । यो अभियान देशलाई समृद्ध बनाउने अभियान हो जबसम्म नेपाल समृद्ध हुँदैन, तबसम्म यो अभियान निरन्तर रहन्छ ।
संस्था दर्ता गर्ने बेलामा धेरैपटक बहस भएको हो । आइसीसीमा पनि र एनसीसीमा पनि र मिडियामा पनि । मेरो सुरुदेखिकै सपना के थियो भने, गैर आवासीय नेपालीको परिभाषामा जुनसुकै नेपाली सार्क देशभन्दा बाहिर ६ महिनाभन्दा बढी बसेको छ भनेदेखि ऊ गैरआवासीय नेपाली हो । र, यसमा विद्यार्थी पनि पर्नुपर्छ भन्ने मान्यता थियो ।
विविध कारणबस, दुःखका साथ भन्दैछुः त्यो अधिवेशनमा सहमतिबाट यो पास भएको होइन, बहुमतबाट पास भएको हो । बहुमतबाट पास हुँदा शायद विरोधमा हात उठाउनेमा म बाहेक अरु केहीजनामात्रै होलान् । त्यो त्यतिबेलाको भिडियो हेर्यो भने थाहा होला । र, म अहिले पनि भन्छुः यो मेरो जिम्मेवारी पनि हो र मैले यो अभियानको जुन सपना देखेको थिएँ, तर मलाई दुख लाग्यो, जुन साथीहरुलाई, जुन विद्यार्थी भाइबहिनीहरुलाई यो संस्थाबाट निकालियो, ती विद्यार्थी भाइबहिनीहरु पनि के जोशमा हो, विरोधमा हात उठाएनन् ।
जुन नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई यो गैरआवासीय नेपालीहरुको परिभाषाबाट हटाइयो, तिनीहरुले पनि विरोधमा हात उठाएनन्, तर अब बल्ल उनीहरुलाई महसुस हुन थालेको छ र अब ए हामीले त त्यो बेलामा नबुझेर पो हात नउठाएका रहेछौं ।
र, अहिले साथीहरुसँग मेरो एउटा अनसरोध छ, यसमा कुनै प्रयास गएको छैन । यो प्रयास अहिलेको यो युरोपको क्षेत्रीय मिटिंगले याृ प्रयास गरोस् । तपाईहरुले यो विषयलाई जोडदार ढंगले उठाइदिनुभयो भने यो अझै पनि पूरा हुन्छ ।
किनभने यो जीवाजील भनेजस्तै यो अन्तरराष्ट्रिय मान्यता हो । हामीले यो परिभाषा त्यतिकै हावाका भरमा गरेका थिएनौं । विभिन्न देशका गैरा आवासीय नागरिक सम्बन्धी परिभाषाहरुको अध्ययन गरेर विधान बनाएका थियौं । जुनसुकै देशको परिभाषामा १८२ दिनभन्दा बढी बाहिर बस्नेहरु गैर आवासीय नागरिक हुन्छन् । नेपालीहरु पनि यसबाट अलग हुन सक्दैनन् ।
मेरो सपना छ, आजको विद्यार्थीहरु विद्यार्थी मात्रै होइनन्, उनीहरु काम पनि गर्छन्, उनीहरु रिसर्च पनि गर्छन् । उनीहरु हाम्रो कार्यक्रममा पनि सहभागी हुन्छन् तर, उनीहरु हाम्रो परिभाषाभित्र छैनन् । हाम्रो विधानमा यस्तो कसरी पर्न गयो जसले भोट दिन पाउने, उम्मेदवार हुन नपाउने रे । यो मैले नबुझेको कुरा हो । जसले भोट हाल्न पाउँछ, यसले उम्मदेवार हुन पाउने यो अन्तरराष्ट्रिय परम्परा हो ।
त्यसैले यसमा सबैजना मिलेर विदेशमा पढिरहेका नेपाली विद्यार्थीहरुलाई र वैदेशिक रोजगारीमा जानेहरुलाई पनि एनआरएनको परिभाषाभित्र ल्याऔं । उसको रेमिट्यान्सबाट देश चलिरहेको छ । तपाई हामीबाट यो देश चलेको होइन । तपाई हामी हजार करोड लडानीका कुरा गर्छौं, तर, उनीहरुबाट ६, ७ बिलियन देशमा जान्छ । यसमा सबभन्दा बढी खाडी र मलेसियामा भएका दाजुभाइ दिदी बहिनीहरुबाट गइरहेको छ ।
त्यस्तै एनआरएनका प्रमुख संरक्षक जीवा लामिछाने :
लामिछानेले विद्यार्थीहरुलाई पनि सदस्यता दिनुपर्ने र एनआरएनमा ल्याउनुपर्ने बताए्। लामिछानेले भने,‘विद्यार्थी भोलिका उर्जावान एनआरएन हुन, त्यसैले कानुन बाझिने कुरामा परिवर्तन गरौँ।’ अहिलेको विधानले विद्याथीृलाई आउन नदिएको भन्दै उनले विधान परिवर्तन गर्नुपर्ने बताए।
त्यस्तै संघकी प्रवक्ता रञ्जु थापाले भने विद्यार्थी कहिल्यै पनि एनआरएनमा नसमेटिने बताइन्। उनले भनिन्, ‘एनआरएनको विधानअनुसार विद्यार्थीहरु एसोसियट सदस्य हुन सक्छन् तर उनीहरुलाई भोटिंगको अधिकार हुँदैन। उनले आम सदस्य र एसोसिएट सदस्यमा फरक हुने भन्दै विद्यार्थीहरु साधरण सदस्य मात्र बन्न सक्ने बताईन्।तस्विर : विकास कार्की