Logo

विद्युत् प्राधिकरणले निर्माण गरेका ठूला विद्युत् गृह लक्ष्यभन्दा बढि विद्युत् उत्पादन गर्न सफल



साउन १५, काठमाण्डौ । निर्माण सम्पन्न भएका ठूला जलविद्युत् गृहले शतप्रतिशतभन्दा बढी विद्युत् उत्पादन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ठूला आयोजनाहरु कालिगण्डकी, मध्यमस्र्याङ्गी र मस्र्याङ्गी विद्युत् गृहले लक्ष्यभन्दा बढि विद्युत् उत्पादन गर्न सफल भएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणले हालसम्म ४ सय ६५ मेगावाट बराबरका १६ जलविद्युत् गृह निर्माण सम्पन्न गरेको छ । तिमध्ये तीनवटा ठूला विद्युत गृहसहित अन्य केही आयोजनाले पनि लक्ष्यभन्दा बढि उत्पादन गर्न सफल भएका हुन् ।

सबैभन्दा ठूलो १ सय ४४ मेगावाटको कालीगण्डकी हो भने दोस्रोमा मध्यमस्र्याङ्दी ७० मेगावाट र तेस्रोमा मस्र्याङ्दी ६९ मेगावाट रहेको छ । गत आर्थिक वर्ष २०७३–०७४ मा यी तीनवटै विद्युत्गृहहरूले लक्ष्यभन्दा बढी विद्युत् उत्पादन गरेका छन् । प्राधिकरणका अनुसार निर्माणसम्पन्न १६ गृहले २ हजार २ सय ८७ गिगावाट आवर उत्पादन गरेकोमा १ हजार ७ सय ६२ गिगावाट आवर विद्युत् सबैभन्दा ठूला कालीगण्डकी, मध्यमस्र्याङ्दी र मस्र्याङ्दी जलविद्युत् गृहले उत्पादन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा २ हजार १ सय २२ गिगावाट आवर उत्पादन भएको थियो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष १ सय ६५ गिगावाट आवर उत्पादन वृद्धि भएको हो । लक्ष्यभन्दा बढि विद्युत् उत्पादन भएपछि लोडसेडिङ न्युनिकरणमा समेत सहज भएको छ । प्राधिकरणका अनुसार, बर्षभरिमा ८ सय ३६ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको कालीगण्डकीले ८ सय ४२ गिगावाट आवर अर्थात १००.७६ प्रतिशत बढी उत्पादन गरेको थियो भने ४ सय ३२ गिगावाट आवर उत्पादन लक्ष्य राखिएको मध्यमस्र्याङ्दीले ४ सय ५५ गिगावाट आवर अर्थात १०५.१४ प्रतिशत विद्युत् उत्पादन गरेको छ ।

त्यसैगरी ४ सय ५१ गिगावाट आवर उत्पादन गर्ने लक्ष्य राखेको मस्याङ्दीले ४ सय ६५ गिगावाट आवर अर्थात १०३.१७ प्रतिशत उत्पादन गरेको छ । १४.८० मेगावाटको मोदीखोला जलविद्युतले ६८ गिगावाट उत्पादन गर्ने लक्ष्य राखेकोमा ७० गिगावाट आवर र १०.०५ मेगावाटको सुनकोशी जलविद्युत् आयोजनाले ४४ गिगावाट आवर उत्पादन गर्ने लक्ष्य राखेकोमा ४६ गिगावाट उत्पादन गरेको विद्युत् प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot