Logo

वार्षिक ३० देखि ४० प्रतिशतसम्म पर्यटकले गर्ने होटल बुकिङ रद्द



साउन १५, काठमाण्डौ । पर्यटकीय गन्तव्यका हिसाबले नेपाल विश्वमा नै उत्कृष्ट मानिन्छ । हरेक वर्ष नेपालमा घुम्नकै लागि लाखौँ विदेशी पर्यटक आउने गर्दछन् । जसका कारण यातायात, होटल लगायतका व्यवसाय फस्टाएको छ । तर नेपालमा वार्षिक ३० देखि ४० प्रतिशतसम्म होटल बुकिङ रद्द हुने गरेको पाइएको छ ।

पछिल्लो समय ट्राभल कम्पनीहरूले बुकिङ धेरै गर्ने र अन्तिम समयमा भने पर्यटकहरुले विभिन्न कारण देखाउँदै रद्द गर्ने क्रम बढ्दै छ । यसरी रद्द हुने आँकडा ३० देखि ४० प्रतिशतसम्म छ ।

सिजन सुरु हुनुभन्दा अगाडि होटल बुकिङ ९० प्रतिशतसम्म पुग्ने गरे पनि बुकिङ रद्द हुँदा प्रत्येक वर्ष कुल कारोबार प्रभावित हुने गरेको छ । गत वर्ष पनि साउन र भदौ महिनामा होटल बुकिङ ८५ प्रतिशतभन्दा बढी थियो । सिजनको अन्त्यमा भने अकुपेन्सी ५५ प्रतिशत मात्रै रह्यो ।

विगतमा १५ देखि २० प्रतिशतसम्म मात्रै बुकिङ रद्द हुने गरेको थियो । तर पछिल्लो समय बुकिङको ४० प्रतिशतसम्म रद्द हुने गरेको हो । यस वर्षको चैत वैशाख र जेठमा पनि अकुपेन्सी ४५ प्रतिशत मात्रै रहेको अनुमान गरिएको छ । तर, सबैभन्दा बढी बुकिङ हुने पुस तथा माघ महिनामा ८० प्रतिशतभन्दा बढी बुकिङ रहेको थियो । विश्वभर १४ दिन अगाडिसम्म रद्द गर्दाको कुनै पनि शुल्क नलाग्ने परम्परा छ । नेपालमा मुख्यगरी असोज, कात्तिक र मंसिर तथा चैत, वैशाख र जेठ दुई सिजनको लागि होटल बुकिङ अत्याधिक हुने गरेको छ ।

पर्यटनको मुख्य सिजन नजिकिदैं जाँदा होटल, ट्राभल, ट्रेकिङ तथा एक्सिपिडिसन सबैतर्फको बुकिङ उत्साहजनक छ । आगामी सिजनका लागि ९० प्रतिशत होटलका रुम बुक भइसकेका छन् । हालसम्म नेपालमा २०१२ मा सबैभन्दा धेरै ८ लाख २ हजार पर्यटक आएकोमा सन् २०१७ को अन्त्यमा उक्त संख्या नाघ्ने अनुमान गरिएको छ । २०१७ मा ८ लाख ५० हजारको हाराहारी पर्यटक नेपाल आउने अनुमान गरिएको हो । पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रमा लगानी बढिरहेको छ ।

गत वर्ष मात्रै पर्यटन क्षेत्रका बैंकको लगानी १२ अर्ब रुपैयाँ थपिएको छ । ०७३ जेठसम्म यस क्षेत्रमा ५० अर्ब ४१ करोड रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।।



प्रतिक्रिया दिनुहोस्