Logo

अस्थायी शिक्षकको व्यवस्थापनमा प्राथमिकता : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौँ, १६ साउन । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकको व्यवस्थापनका लागि सरकारले प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।

‘शिक्षालय’ मासिक र ‘आजको आवाज’ मिडियाले आज यहाँ आयोजना गरेको १३ औँ शैक्षिक सम्मान कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले आगामी भदौ ३ गतेका लागि तय भएको शिक्षकको परीक्षा, अस्थायी शिक्षकसँग भएका सम्झौताको कार्यान्वयन र चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्या वार्ताबाट समाधान गर्न आफूले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

अस्थायी शिक्षकले स्थायी गराउनेसम्बन्धी गत महिनाको सहमति लागू नभएपछि पुनः आन्दोलनको चेतावनी दिएका छन् । हाल २६ हजार अस्थायी शिक्षक छन् । उहाँले स्थानीय तहमा शिक्षाका कामको हस्तान्तरण प्रक्रिया सुरु भएको र त्यससम्बन्धी आवश्यक नियमावलीको मस्यौदा भइरहेको जानकारी दिँदै सार्वजनिक शिक्षाको गुणस्तरवृद्धिमा सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले स्थानीय तहले गर्नुपर्ने शिक्षाका कामलाई सहजीकरण गर्न सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो । अभिभावक संघ नेपालका उपाध्यक्ष सरिता अर्यालले विद्यालयमा विद्यार्थीलाई पत्रु खाना खुवाउने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । शिक्षालयका प्रकाशक श्याम तण्डुकारले आगामी दिनमा देशव्यापी र व्यवस्थित सम्मान कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।

शिक्षाकर्मी सम्मानित

कार्यक्रममा करिब २५ शिक्षाकर्मी र शिक्षण संस्थालाई सम्मान गरियो । सम्मानित हुनेमा शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा लक्ष्मीराम पौडेल, शिक्षासेवी डा माधव बराल, डा सुरेन्द्रप्रसाद सिंह, विजय सम्बाहाम्फे, डा राजेन्द्र केसी, रञ्जना प्रधान, राजकुमार महर्जन हुनुहुन्छ ।

यस्तै उत्कृष्ट शिक्षकतर्फ ज्ञानोदय मावि बाफलका गोविन्द भण्डारी, शिक्षा पत्रकारितातर्फ ‘नागरिक’ दैनिकका रुवी रौनियार र ‘एजुकेसनखबर डट कम’ का श्रीधर पौडेल पुरस्कृत हुनुभयो । रु २५ हजार राशिको ‘वाइवाइ ज्ञानोदय छात्रवृत्ति पुरस्कार’बाट गत वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा राम्रो नजिता ल्याउने (जिपिए ३ दशमलव ९) त्रिपद्म विद्याश्रम मावि पुल्चोकका छात्रा मन्दिरा श्रेष्ठ र अनुशा थापा मगर पुरस्कृत हुनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot