Logo

आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थमन्त्री कार्की



काठमाडौँ, १६ साउन । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कर्मसले यहाँ आज आयोजना गरेको ‘विद्यमान वित्तीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रका समसामयिक विषयबारे निजी क्षेत्रको अवधारणा विषयक’ अन्तक्र्रिया कार्यक्रममा उहाँले निजी क्षेत्रलाई साथ र विश्वासमा लिएर मुलुकलाई थप समृद्ध र विकसित बनाउन सरकार लागिपरेको छ भन्नुभयो ।

अर्थमन्त्री कार्कीले आर्थिक विकासका लागि निजी क्षेत्रले भाग्नुपरेका समस्या समाधानका लागि नीतिगत सुधार गर्नसमेत सरकार तयार रहेको उल्लेख गर्दै आर्थिक वर्ष २०७३÷७४ मा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ९ पुगेको र चालु आवमा ७ दशमलव २ प्रतिशतको लक्ष्य तय भएकाले सो लक्ष्यप्राप्तिका लागि निजी क्षेत्र र सरकार मिलेर नै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगानाले निजी क्षेत्रबिनाको आर्थिक विकास प्रयासले सार्थकता पाउन नसक्ने बताउँदै व्यावसायिक मैत्री वातावरण बनाउन सरकार क्रियाशील रहेको छ भन्नुभयो ।

भन्सार र कर प्रशासनलाई थप सरलीकृत, व्यावहारिक र व्यावसायिक बनाउन उद्योगी व्यवसायीको सुझावलाई बढीभन्दा बढी कार्यान्वयन गरिएको पनि उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका निर्देशक नरबहादुर थापाले चालु आवका लागि तय भएको मौद्रिक नीतिले कुनै बाधा नपारेको बरु थप सहजीकरण गरेको उल्लेख गर्दै उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गर्ने र लगानीका अवसर वृद्धि गर्न बैंक तथा वित्तीय संस्थालाई बाध्यकारी व्यवस्था गरिएको धारणा व्यक्त गर्नुभयो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनपछि मुलुकमा आर्थिक विकासको मार्ग प्रशस्त भए पनि उद्योगी तथा व्यावसायीलाई भने नयाँ खालको समस्याले सताएको चर्चा गर्दै विद्युत्भार कटौती पुनःसुरु हुने भन्ने आशयका समाचार सार्वजनिक भएकाले त्यस्तो हुन नदिन अर्थ मन्त्रालयले विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्