Logo

उपेन्द्र यादवले नै मुख खोले : के थियो नयाँ शक्तिसँग एकता हुन नसक्नुको खास कारण ?



संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबिच एकता हुने चर्चा चले पनि अन्तिम समयमा आएर स्थगित भयो । के कारणले एकता हुन सकेन भन्ने विषयमा धेरै चर्चा र टिप्पणी भइरहेका छन् । यसै सन्दर्भमा ऋषि धमलाले संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

नयाँ शक्तिसँग एकता हुन सकेन । बाबुराम भट्टराईसँग कुरा किन मिलेन ?
कुरा नमिलेको होइन । परिस्थिती परिपक्व भइनसकेको हो । दुवैतिरबाट प्रयास भयो । तर परिस्थिती मिलेन ।

नीति र नेतृत्वको विषयमा तपाई र बाबुराम भट्टराईबिचमा कुरा नमिलेको हो ?
सबै कुरा मिलेको भए त एकता भइहाल्थ्यो । हाम्रो तहबाट गर्ने कुरा त सबै मिलेको थियो । तर दुवै पार्टीभित्र पनि कुरा मिल्नुपर्ने हुन्छ । ति कुराहरु मिलाउन बाँकी नै रह्यो ।

तपाईले बाबुराम भट्टराईलाई नेतृत्व दिन नमानेकाले एकता हुन नसकेको भन्ने आरोप छ नि ?
कसले के भन्यो त्यो फरक पाटो हो । तर कुरा निष्कर्षमा पुग्न नसकेको हो । नेतृत्व सबै मिलेर साझेदारी गरेर वा सामुहिक नेतृत्वका कुराहरु आएका छन् । अरु पनि धेरै कुरा टुङ्गिन बाँकी थियो । तर धेरै कुरा पहिले नै प्रचारबाजी गरिएको थियो ।

कुरा किन निष्कर्षमा पुग्न सकेन ?
राजनीतिक कुरा हो । नीति, सिद्धान्त, नेतृत्व व्यवस्थापन, संगठनात्मक संरचना लगायतका सबै कुरा मिल्नुपर्छ । सबै कुरा मिलाउन सकिएन । दुवै पक्षबाट निष्कर्षमा पु¥याउन पहल गरिएको थियो ।

त्यसो भए अब तत्काल एकता हुन सक्दैन ?
त्यसो नभनौँ । तुरुन्तै नहोला, तर भविष्यमा पनि हुन सक्दैन भन्ने होइन ।

उपेन्द्र यादव र बाबुराम भट्टराई एउटै पार्टीमा रहने आधार छ ?
एकताको कुरा सुरु भएर धेरै कुरा अगाडि बढेको छ । अहिले चाँही हामीले निष्कर्षमा पु¥याउन नसकेकै हो । भविष्यमा एकता हुँदै हुन्न भन्ने कुरा चाँही म मान्दिन ।

प्रदेश नम्बर २ को चुनाव अगाडि कुनै पार्टीसँग एकता हुने सम्भावना छ ?
अहिले तत्काल कुनै पनि पार्टीसँग एकता हुने सम्भावना देखेको छैन ।

अहिले तपाईको पार्टींमा प्रवेश गर्ने लहर चलेको हो ?
विभिन्न पार्टीबाट नयाँ तथा पुराना साथीहरु आउने क्रम जारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot