Logo

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्नुहुँदैन : खनाल



काठमाडौं, १७ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनाल बलदेवले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्न नसकिने बताएका छन् । उनले भने,‘दुवै निर्वाचन बेग्लाबेग्लै चरणमा हुन्छ, दुई चरणमा निर्वाचन भयो भने धेरै राम्रो हुन्छ।’ उनले समानूपातिक–समावेशिता सुनिश्चितता गर्नको लागि पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्न नहुने धारणा राखे ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले असोज २ गतेको स्थानीय तहको प्रदेश नम्बर २ को निर्वाचन तोकिएकै मितिमा हुने समेत विश्वास दिलाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘माघ ७ गतेभित्रै सबै तहको निर्वाचन हुन्छ, स्थानीय तहको दुई चरणको निर्वाचन भैसक्यो, अब दुई नम्बर प्रदेशमा बाँकी हो, त्यहाँपनि तोकिएकै मितिमा हुन्छ।’

त्यस्तै उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति पनि चाँडै तोकिने र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन चाँडै आउने बताए ।

उनले अघिल्लो सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि असाध्यै राम्रो भूमिका निर्वाह गरेपनि निश्कर्षमा पुर्याउन नसकिएकोले अहिलेपनि दुई तिहाई जुटाउने प्रयास भैरहेको बताए ।

नेता खनालले संशोधन नभएपनि चुनाव नरोकिने जिकिर गरे । उनले भने,‘चुनाव हुन्छ, हुन्छ, यदि संशोधन प्रस्ताव पारित भयो भने राम्रो कुरा हो, भएन छ भनेपनि चुनाव हुन्छ, रोकिँदैन्।’ उनले संशोधन प्रस्ताव पारित हुने संभावना भएपनि पारित नै हुन्छ भनेर ठोकेर भन्ने अवस्था अहिले नभएको स्पष्ट पारे ।

उनले २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले राम्रै नतिजा हाँसिल गर्ने समेत जनाए । उनले भने,‘हाम्रो पार्टी नेतृत्व अहिले मधेशमा केन्द्रित भएको छ, हामी फुल फ्लेज्ड तयारीमा छौं, राम्रोसँग चुनाव लड्ने हाम्रो तयारी छ।’ यद्धपी उनले आफ्नो पार्टी चुनावी तालमेलको लागि सबैसँग खुल्ला रहेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot