Logo

ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सरकार क्रियाशीलः मन्त्री शाही



काठमाडौँ, १७ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् सेवा नपुगेका मुलुकको ग्रामीण क्षेत्रमा प्रसारण लाइन पु¥याउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ ।

मुलुकमा अझै पनि ३५ प्रतिशतभन्दा बढी भू–भागमा विद्युत् सेवा पुग्न नसकेको उल्लेख गर्दै उहाँले सरकारले सो क्षेत्रमा विद्युतीकरणका लागि विशेष प्राथमिकता दिने बताउनुभयो ।

विद्युत् सेवा पुगेका स्थानमा नियमित र व्यवस्थित तवरले सेवा दिने नियमित काम भए पनि सेवा नै नपुगेका स्थानमा सेवा पु¥याउनु अर्को महत्वपूर्ण कार्यभार रहेको उहाँको कथन थियो ।

विद्युत् प्रसारण लाइन विस्तार गरिदिन माग गर्दै आज ऊर्जा मन्त्रालयमा सल्यानका राजनीतिक दलले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री शाहीले भन्नुभयो, “जनताको सेवाबाहेक मेरो अरु कुनै कार्यसूची छैन । विद्युत् सेवाको विस्तारमा पूर्ण प्रतिबद्ध भएर लाग्नेछु । त्यसमा सबैको साथ सहयोग जरुरी छ ।”

प्रतिनिधिमण्डलले सल्यानको शारदा बबई विद्युत् जलाशय आयोजनाको कार्यालय स्थापना गर्नेबारे छिटो पहल गर्न पनि माग गरेको पूर्वसभासद उमाकान्त शर्माले जानकारी दिनुभयो ।

शर्माले स्थानीय तहदेखि सदरमुकामसम्म प्रशारण लाइन जोड्नेबारे मन्त्री शाहीको ध्यानाकर्षण गराएको बताउनुभयो ।

सल्यानका दार्मा, कुमाख र कालिमाटी गाउँपालिकामा अहिलेसम्म विद्युत् पुगेको छैन् । ती स्थानका बासिन्दा कहिले बिजुली बाल्न पाइएला भन्दै प्रतीक्षामा बसिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्