Logo

महोत्तरीको शव परीक्षण भवन ६ महिनादेखि प्रयोगविहीन



महोत्तरी, १८ साउन । प्राथमिक स्वास्थ्य चौकी, गौशालामा शव परीक्षण भवन निर्माण भएको छ महिना बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन । हस्तान्तरण हुन नसक्दा नवनिर्मित भवन प्रयोगविहीन बनेको छ ।

स्वास्थ्य मन्त्रालयको रु ७० लाख आर्थिक सहयोगमा निर्माण भएको शव परीक्षणको नवनिर्मित भवन हस्तान्तरण नभएपछि प्रयोगविहीन बनेको प्राथमिक स्वास्थ्य चौकी, गौशालाका डा अभिशेषकुमार मल्लिकले बताए ।

प्राथमिक स्वास्थ्य चौकीको परिसरमा रु ७० लाखको लागतमा निर्मित सो पक्की भवन निर्माण भएको महिनौँ बितिसक्दासमेत स्वास्थ्य चौकी व्यवस्थापनको वेवास्ताका कारण हस्तान्तरण हुन सकेको छैन । घटना, दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षणका लागि सुविधासम्पन्न शव परीक्षण भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन ।

गौशालामा शव परीक्षण सम्भव नभएपछि जलेश्वर पठाउँदै आएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । आफन्त, घर परिवारका अकालमा मृत्यु भएर समस्यामा परेका बेला पैसा हुनेले जसोतसो शव परीक्षणको लागि गाडीको व्यवस्था गरे पनि गरिबका लागि जलेश्वर आवतजावत गर्दा शोकमा झनै अर्को समस्या थपिन्छ । शव परीक्षण कक्ष सञ्चालनमा आएमा जिल्लाको पश्चिमी क्षेत्रका सेवाग्राहीले सुलभरुपमा सेवा लिन सक्नेछन् । रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot