Logo

व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न मन्त्री विश्वकर्माको आग्रह



काठमाडौँ, १९ साउन । वाणिज्यमन्त्री मीन विश्वकर्माले व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शको टोलीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री विश्वकर्माले मुलुकको आर्थिक विकासको मेरुदण्ड व्यवसाय भएकाले यसलाई बढावा दिनुपर्ने बताउनुभयो ।

“व्यवसायीको रक्षा भएमात्र व्यवसायको रक्षा हुन्छ, व्यवसाय राम्रो भए मुलुकको विकास हुन्छ”, उहाँले भन्नुभयो । व्यवसायीका समस्या समाधानका लागि मन्त्रालयले काम गर्ने तर कालोबजारी र कर छली गर्ने व्यवसायीलाई कारबाही गर्ने उहाँको भनाइ थियो ।

मन्त्री विश्वकर्माले आयातित सामानलाई कम गरी निर्यातजन्य वस्तुलाई बढाउन सकेमात्र देशको व्यापार घाटा कम हुने भन्दै यसका लागि व्यवसायी लाग्नुपर्ने बताउनुभयो । कर तिर्ने व्यापारी देशको मेरुदण्ड भएकाले व्यापारीको सल्लाहअनुसार आफू अगाडि बढ्ने उहाँले बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले वाणिज्य नीतिमा सुधार गरे व्यापार–व्यवसाय सहज हुने भन्दै सुधारका कार्यक्रमलाई अगाडि बढाउन मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

उहाँले व्यापारका क्रममा रसुवा नाकामा भोग्नुपरेका समस्या, कालोबजारी ऐन, उपभोक्ता ऐन संशोधन नभएको भन्दै संशोधनका लागि मन्त्रालयले पहल गर्नुपर्नेमा जोड दिनुभयो । भेटमा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी र सदस्यको सहभागिता रहेको थियो । रासस÷अच्युत रेग्मी (श्रव्य सामग्री उपलब्ध छ)



प्रतिक्रिया दिनुहोस्