Logo

पर्यटकीय क्षेत्र मरोटी ओझेलमा



(अरुण यादव) : राजविराज, १९ साउन । लोक संस्कृतिसँग जोडिएको सप्तरीको कृष्णासरवण गाउँपालिकास्थित कृष्णाराम मरोटीस्थल ओझेलमा परेको छ ।

प्रचार प्रसार र भौतिक पूर्वाधार अभावका कारण सो क्षेत्र ओझेलमा परेको हो । मोहुली बजारदेखि करिब १४ किलोमिटर उत्तरतर्फ भित्री चुरे जंगलमा मरोटी रहेको छ । बाटोभरि विभिन्न झरनाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । दर्शनार्थीको मन लोभ्याउने सो ठाउँमा पुग्न बाटोघाटोको उचित व्यवस्था नहुँदा समस्या हुने गरेको स्थानीय सोभितलाल पघैया यादव बताउनुहुन्छ ।

गाई–भैँसी ब्याउँदा पहिलो पटक कृष्णारामलाई खिर, दही, लड्डु र पान–सुपारी प्रसादका रूपमा चढाइने परम्परा छ । त्यहाँ दैनिक करिब दुई सय व्यक्ति दूधसहित विभिन्न सामग्री लिएर जाने गरेका यादवले बताउनुभयो । खिर बनाएर चढाउने परम्पराका कारण सो स्थानमा दैनिक भीड लाग्ने गर्छ ।

पशुको रक्षकका रुपमा चिनिनुहुने कृष्णारामलाई दादाजी भनेर समेत श्रद्धापूर्वक सम्बोधन गरिन्छ । किसानले गाईभैँसी दुहेपछि प्रत्येक दिन गाईगोठ (गोहाली)को अगाडि बनाइएको किलामा दूधको धारा चढाएर कृष्णारामलाई सम्झिने चलन अहिलेसम्म कायमै रहेको यादव बताउनुहुन्छ । गाई–भैँसी ब्याउँदा पहिलो पटक कृष्णारामलाई खिर बनाउनका लागि दूधसहित मरोटी पुग्ने किसानले जंगलकै दाउराबाट त्यही खिर पकाउने गर्छन ।

“खिर पकाउने बेला भक्तजनले भाँडोमा उम्लिरहेको दूध हातले नै चलाउने परम्परा छ,” यादवले भन्नुभयो । मुलुकका विभिन्न ठाउँबाट तथा भारतबाट समेत त्यहाँ दही र दूध लिएर पुग्ने गरेका छन् । मरोटी पुगेर खिर चढाउनुलाई स्थानीय भाषामा ‘जनार’ दिने भनिन्छ ।

कृष्णराम मरोटी पुगेर जनार दिँदा गाईवस्तु निरोगी हुने, गोठमा चौपाया बढ्ने जनविश्वास रहेको स्थानीय विन्देश्र मंगरदैता बताउनुहुन्छ । उक्त परम्परा करिब ७०० वर्षदेखि चल्दै आएको इतिहासविद् हरिकान्तलाल दासको भनाइ छ । किसानको पेशासित जोडिएको पशुपालन र पशुपालनसित कृष्णारामको गाथालाई स्मरण गराउने मरौटी क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सके जिल्लाकै आर्थिक अवस्था सुदृढ उहाँ बताउनुहुन्छ ।

श्रद्धालु र पर्यटकका लागि बस्ने सुविधा नहुँदा सभासद् शिवराम यादवले सभासद् विकास कोषबाट टिनको छाना भएको दुईतले धर्मशाला निर्माण गर्नुभएको छ । पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने उक्त ठाउँको विकासका लागि संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगको आवश्यकता रहेको छ ।

कृष्णाराम मरोटीमा सबै समुदाय र जातजातिको व्यक्तिले आफना घरमा पालेका गाई, भैँसीको दूध लिएर त्यहाँ खिर बनाएर चढाउने गरेका छन् । यादव समुदायबाटै एकजनाले खिर बनाउने र कृष्णारामलाई चढाउने परम्परा छ । घोसिन यादवका लोक देवताको रूपमा मानिएका कृष्णाराम र शोभरण दुई दाजुभाइ थिए । कृष्णारामले त्यस क्षेत्रमा आफ्ना गाई, भैँसीका बथान राख्ने गरेका थिए । लोकगाथामा उल्लेख भएअनुसार कृष्णाराम त्यहाँ गाई चराउँथे ।

नवविवाहिता पत्नीलाई समेत भुलेर उनी गाईवस्तुसँगै बढी समय बिताउने गरेका कारण उनकी पत्नी बुधना जहिले पनि दुःखी रहन्थिन् । कृष्णारामकी आमा कजलाले माइलो छोरा शोभरणलाई दौरी बथान (मरौटी आस्पासको क्षेत्र) पठाइन । भाइ लिन आएपछि कृष्णराम आफ्ना साथी बोधीरामलाई गाईवस्तु जिम्मा लगाएर घर फर्किंदा दुवै दाजुभाइ नेबुवा बागमा मारिनुभयो । अहिले कृष्णाराम बसेको दौरी बथान क्षेत्र पशुपालकका लागि पुजनीयस्थल मरोटी बन्न पुगेको हो ।

कृष्णाराम र शोभरन दुवै दाजुभाइ मारिएको स्थलमा रूखमुनि सयौँको संख्यामा कालो पत्थरका टुक्रा अहिले पनि थुपारिएका छन् । पत्थरका टुक्रा दुवै दाजुभाइको शरीरको अङ्ग भएको जनविश्वास छ । कृष्णारामले गाईवस्तु बाँध्न बनाएको सखुवा काठको किला र आगो ताप्ने ठाउँ अहिले यथावत् नै छ । कृष्णारामको मृत्यु भएको कारणले उक्त ठाउँलाई मरोटी भनेर चिनिएको र त्यहाँ जनार दिने प्रचलन रहिआएको छ । रासस



प्रतिक्रिया दिनुहोस्