साउन १९, काठमाण्डौ । विहिबार चेम्बर अफ कमर्शको टोलीले वाणिज्य मन्त्री मिन विश्वकर्मालाई भेटेर व्यापार घाटा घटाउनका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिएको छ ।
कमर्शको नेतृत्व गरेर गएका अध्यक्ष राजेशकाजी श्रेष्ठले विगतमा लोडसेडिङका कारण उद्योगबाट हुने उत्पादन प्रभावित भए पनि अहिले त्यस्तो अवस्था नरहेको औँल्याउँदै व्यापार घाटा कम गर्नमा सरकार गम्भीर हुनुपर्ने बताए । अहिले विभिन्न समस्याको अन्त्य भई श्रम ऐन समेत बनेकोले उद्योगहरु सञ्चालनमा सफल भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले इलेक्ट्रोनिक सामग्रीको प्रयोग गर्न सके व्यापार घाटा कम हुने दाबी गरे ।
साथै, आपूर्ति विभागले उपभोगता ऐन ल्याएकोले गर्दा उद्योग क्षेत्रको लगानीमा नकारात्मक प्रभाव परेको, विदेशमा निर्यात भएका समाग्री समेत फिर्ता आएको र व्यापारीको आकर्षण हुन नसकेको गुनासो समेत श्रेष्ठले गर्नुभयो ।
भेटका अवसरमा वाणिज्य मन्त्री विश्वकर्मांले व्यवसायीका समस्या समाधान गर्दै व्यापार घाटा कम गर्ने बाटोमा मन्त्रालय हिँड्ने बताउनुभयो । मन्त्री विश्वकर्माले नेपालबाट निर्यात गरिने सामानको गुणस्तर बढाउनका लागि पनि आफु प्रतिवद्ध रहेको विश्वास दिलाउनुभयो ।
भेटका अवसरमा आगामी नोभेम्बर २९ देखि डिसेम्बर ४ सम्म ९ वटा देशहरुको सहभागितामा व्यापार व्यवसायसँग सम्बन्धित मेला नेपालमा गरिने जानकारी दिए ।