Logo

बाढीपहिरो पीडितको उचित व्यवस्थापन गर्न माग



काठमाडौँ, २० साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले मुलुकभर बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै उचित व्यवस्थापन गर्न माग गर्नुभएको छ ।

सांसद चन्द्रकान्त भण्डारीले मुलुकमा अपार प्राकृतिक स्रोतसाधन भएपनि आर्थिक दुरावस्था र जनताका जनजीविकाका समस्या यथावत् रहेको र जनताले सामान्य औषधि उपचारसमेत नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद श्रीमाया थकालीले मुस्ताङमा पहिरोले भएको क्षतिका बारेमा जानकारी गराउँदै बेनी–जोमसोम बाटो स्तरोन्नति गर्न माग गर्नुभयो ।

सांसद नारायणबहादुर कार्कीले अस्थायी शिक्षकका जायज माग अविलम्ब पूरा गरी शिक्षाको गुणस्तर सुधार्न माग गर्नुभयो ।

सांसद गौरीशङ्कर चौधरीले कैलालीमा अबिरल वर्षाले डुबान भएको भन्दै वर्षायाममा जिल्लाबाट राजधानी जोड्ने एकमात्र विकल्प हवाई यातायातमा दैनिक दुई मात्र विमान भएको र हवाई भाडामा सिण्डिकेट सुरु भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद लीलादेवी श्रेष्ठले मुलुकमा ८० हजार किमी सडक भएपनि स्तारोन्नति नभएका कारण दुर्घटना बढ्दै गएकाप्रति ध्यानाकर्षण गराउनुभयो ।

सांसद जनकराज चौधरीले गएरातिको अबिरल वर्षाका कारण कैलालीमा थुप्रै बस्ती जलमग्न भएकाले पीडित परिवारलाई हात दिन आग्रह गर्नुभयो ।

सांसद अइन्द्रसुन्दर नेम्बाङले विदेशमा काम गर्ने कामदारलाई अनलाइन मार्फत भए पनि मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा के हुने त्यसबारेमा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

सांसद मीना पुनले अबिरल वर्षाका कारण बागलुङमा बाढी पहिरोले कैयाँैका घरमा क्षति हुनुका साथै केहीको मृत्यु र बेपत्ता भएको भन्दै शीघ्र खोजबिन गर्न र आवश्यक राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद पवनकुमार शारदाले व्यापारघाटा घटाउन औद्योगिक क्षेत्र बढाउन पर्ने माग गर्नुभयो ।

सांसद रुक्मिणी चौधरीले निर्वाचन क्षेत्र निर्धारण आयोग समावेशी नभएको भन्दै आयोगमा महिलाको प्रतिनिधित्व गर्न माग गर्नुभयो ।

सांसद लक्ष्मण राजवंशीले मुलुकमा ठूलाठूला भ्रष्टाचारका घटना हुँदै गएको भन्दै कर फछ्र्योटमा भएको २० अर्बको घोटालामा अन्य ठूला पदमा रहेका व्यक्ति पनि भएको हुनसक्ने भन्दै छानबिन गर्न माग गर्नुभयो ।

सांसद जनकराज जोशीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक गर्ने हो भने संसद्मा विचाराधीन विधेयकमा सोहीअनुसारको संशोधन गर्दा सहज हुने धारणा राख्नुभयो ।

सांसद रामहरि खतिवडाले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनामा निर्माण चीनको विवादित गेजुवा कम्पनीलाई दिन लागिएको प्रति आपत्ति जनाउनुभयो ।

सांसद लालबहादुर रावलले बझाङमा बाढी पहिरोले यातायात अवरुद्ध भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद निशाकुमारी साहले संविधानले व्यवस्था गरेको पैत्रिक सम्पत्तिमा लैङ्गिक समान हकको व्यवस्था उपयुक्त कानुन बनाई लागू गर्न माग गर्नुभयो ।

सांसद रेशमबहादुर बानियाँले म्याग्दीमा आएको बाढीबाट भएको क्षतिका सम्बन्धमा ध्यानाकर्षण गराउँदै उचित राहत र बाढीपहिरोको रोकथामको व्यवस्थापन गर्न माग गर्नुभयो ।

सांसद हर्कबोल राईले राजनीतिक दलले शहिद घोषणाको माग गर्दै जाने र सरकारले पनि घोषणा गर्दै जाने प्रवृत्तिले सच्चा शहिदप्रति सम्मान नहुने भन्दै त्यसको स्पष्ट आधार र मापदण्ड बनाउन माग गर्नुभयो ।

सांसद श्यामकुमार श्रेष्ठले संविधानअुनसार अब बाँकी निर्वाचन गर्न ंसमय कम छ भएकाले आवश्यक कानूनी व्यवस्था गरी एकैपटक गर्दा उचित हुने धारणा राख्नुभयो ।

सांसद ज्ञानकुमारी छन्त्यालले बागलुङमा पहिरोले भएको जनधनको क्षति भएको भन्दै मृत्यु भएकालाई क्षति दिनुपर्ने र सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ हुन नसकेको गुनासो गर्नुभयो ।

सांसद नरदेवी पुनले म्याग्दीमा बाढीपहिरोका कारण बस्ती नै विस्थापित भएको भन्दै बस्तीलाई सुरक्षित स्थानमा सार्न सरकारसँग माग गर्नुभयो । रासस

 



प्रतिक्रिया दिनुहोस्