काठमाडौं, २१ साउन । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजी जान लाग्दा उनका साथी खेलाडी मेस्सी भावुक बनेका छन् । नेइमारको पिएसजी स्थानान्तरण लगभग पक्का भइसकेपछि नेइमार आफ्ना सहकर्मीसँग विदाई हुन बुधबार बार्सिलोना पुगेका थिए।
त्यहाँ उनले बार्सिलोनाका सहखेलाडी मेस्सी, लुइस स्वारेज लगायतसँग ४० मिनेट ट्रेनिङ भइरहेको ठाउँमा बिताएका थिए । मेडिकल चेकअपको लागि पोर्चुगल उँड्नुअघि बार्सिलोना पुगेका नेइमारले आफ्ना सबै सहखेलाडीसँग अंकमाल गरे ।
त्यसपश्चात नेइमार पोर्चुगल उँडेपछि मेस्सीले इन्स्टाग्राममा सन्देश पोष्ट गर्दै भने तिमीसँग बितेका प्रत्येक पलले मलाई निकै आनन्दको अनुभुति दिलाउँछ । प्रिय साथी नेइमार जीवनको नयाँ सुरुवातको लागि तिमीलाई बधाइ अनि शुभकामना । तिमीलाई धेरै धेरै माया ।
आफ्ना सहखेलाडी मेसीले छुट्टिन लाग्दा सन्देश लेखेपछि नेइमारले पनि प्रत्युत्तरमा सन्देश लेख्दै भने । धन्यवाद दाई । तिमीलाई धेरै मिस गर्नेछु । सन् २०१३ मा बार्सिलोनामा आबद्ध भएका नेइमारले पाँच पटक बलोन डि ओर विजेता मेस्सीसँगै आफ्नो खेलजीवनलाई नयाँ उचाइमा पुर्याएका थिए ।
जहाँ २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका लुइस स्वारेजसँग समेत खेलको राम्रो लय जम्दा एमएसएनको लिडमा बार्सिलोनाले च्याम्पियन्स लिग, लालिगा तथा कोपा डेलरे जस्ता महत्वपूर्ण उपाधि जित्न सफल भएको थियो ।