साउन २१, काठमाण्डौ । बहुमूल्य पत्थर जडित मौलिक गरगहना निर्यातको सम्भावना भए पनि गर्न सकिएको छैन । आधारभूत पूर्वाधारको अभावमा त्यस्ता गहना उत्पादन नै हुन सकेको छैन । गरगहनाहरुको निर्यातमुलुक उद्योग स्थापना गर्नसके त्यसले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली गरगहना परम्परागत रुपमा हातैले बनाउने हुँदा बाहिरी मुलुकका कुनै पनि गहनासँग डिजाइन नमिल्ने भएकाले त्यसको आकर्षण धेरै रहेको छ । त्यस्ता गरगहना अन्तर्रा्ष्ट्रिय बजारमा र्पुयाउन सके प्रतिस्पर्धा नगरीकनै राम्रो बजार पाउन सक्ने सम्भावना भएपनि निर्यात गर्न नसकिएको सुनचाँदी व्यवसायीले गुनासो गर्ने गरेका छन् । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी लगायत बहुमुल्य पत्थर जडित मौलिक नेपाली गरगहनाहरुको निर्यातमुलुक उद्योग स्थापना गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
काठमाण्डौ सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले संघीय संरचनामा मुलुक गईसकेको परिपेक्षमा स्थानीय र पररम्परागत नेपाली गरगहनाहरुको निर्यातगरि मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि त्यस्ता उद्योग स्थापनाको विकल्प नभएको बताउनुभयो । उहाँले सुनचाँदी तथा बहुमुल्य पत्थर जडित नेपाली परम्परागत गहना कारोबारको माध्यमबाट राष्ट्रिय आयमा थप योगदान पुर्याई नेपालीको जीवनस्तरमा टेवा दिने लक्ष आफुहरुले लिएको स्पष्ट पार्नुभयो ।
त्यस्तै काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले परम्परागत रुपमा रहदै आएको सुनचाँदी व्यवसाय धरापमा पर्न संक्ने संभावना रहेको भन्दै सिप सिकाईलाई विस्तार गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने तर्फ विचार पुर्याउनुपर्नेमा जोड दिनुभयो । अहिले पनि परम्परागत नेपाली गहना बनाउने कालिगडहरु नेपाली नभई विदेशी बढी भएको भन्दै उहाँले सिपमुलुक तालिम संचालनका लागि महानगरले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मेयर शाक्यले सुनचाँदी जस्ता बुहमुल्य पत्थर जडित धातुहरुको व्यवसाय विस्तारमा महानगरले सधै सहयोग गरिरहने उल्लेख गर्नुभयो ।
काठमाण्डौ सुनचाँदी व्यवसायी संघको पन्ध्रौ बार्षिक साधारणसभामा सहभागी व्यवसायीले मौलिक गरगहनाको निर्यात मुलक उद्योग स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाल आउने पर्यटकले किनेर लैजाने भएकाले वर्षेनी धेरै परिमाणको सुनका गरगहना बाहिरिने भएपनि नियमीत निर्यात हुन सकेको छैन । चाँदीका कलात्मक वस्तु तथा अरु गरगहनाहरु भने बाहिरी मुलुकमा जाने गरेका छन् ।
अहिले नेपालभर १० प्रतिशत भन्दा कम मात्रै नेपाली परम्परागत गहनाको कारोबार हुन्छ । शहरी क्षेत्रमा भने यो दर २ प्रतिशत जति मात्रै छ । निर्यात सम्बन्धि प्रष्ट नीति नहुँदा नेपाली व्यवसायीले फाइदा लिन सक्ने अवस्था आउन सकेको छैन । नेपाली सुनका गहनाहरु अहिले वैध रुपमा निर्यात हुने गरेको छैन ।