काठमाडौँ, २१ साउन । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा ‘किसुनजी अध्ययन केन्द्र’ स्थापना भएको छ ।
स्वर्गीय भट्टराईले नेपाली राजनीतिमा गरेको त्याग र संघर्षलाई आम जनतामाझ पुर्याउने उद्देश्यका साथ उक्त अध्ययन केन्द्र स्थापना भएको हो । केन्द्रको आज यहाँ उद्घाटन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसुनजीको राजनीतिक जीवनबाट काँग्रेसले धेरै सिक्नुपर्ने बताए ।
‘किसुनजीको आदर्श अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ,’–पौडेलले भने । उनले किसुनजीको निष्ठा, त्याग र योगदान भावी पुस्ताले अध्ययन गर्नुपर्नेमा जोड दिए ।
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले किसुनजीले नेपाली राजनीतिमा गरेका योगदानलाई यो अध्ययन केन्द्रले खोजेर नयाँ पुस्तासम्म पुर्याउन जरुरी रहेको बताए ।
केन्द्रका अध्यक्ष अविनाश सिलवालले पछिल्लो समयमा राजनीतिमा विकृति देखा पर्दै गएकाले वैचारिक अभियानका रुपमा यो अध्ययन केन्द्रले काम गर्ने बताए ।