Logo

सल :चा प्याखँ अर्थात् घोडा चढेर नाच्ने नाच संचालन हुने



२२ साउन, भक्तपुर । परापूर्वकालदेखि चल्दै रोकिँदै आउँदा लोपोन्मुख अवस्थामा पुगेको सल :चा प्याखँ अर्थात् घोडा चढेर नाच्ने नाच मध्यपुरथिमिमा यसवर्षदेखि सञ्चालन हुने भएको छ ।
उन्नाइस वर्षपछि मध्यपुरथिमि नगरपालिका–५ पोवु टोलका भासिमाले नाच जोगाउन यसवर्षदेखि नाच सञ्चालनमा ल्याउने भएपछि यहाँका वृद्ध, युवा तथा बालक दैनिक नाचको तयारीमा जुटेका छन् ।
महाभारतको पाँच पाण्डवको कथामा आधारित रहेर नाचिने यो नाच चन्द्रमान भासिमाको घरबाट निकाल्ने भएकाले दैनिक यही घरमा नाचको तयारीमा ८५ वर्षका वृद्धदेखि १३ वर्षका बालकसमेत जुटेका हुन् ।
लोपोन्मुख अवस्थामा पुगिसकेकाले नयाँपुस्तामा हस्तान्तरण गरी जोगाउन सलःचा प्याखँ नाच यसवर्षदेखि अरूलाई सिकाउने र पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न यसवर्ष सञ्चालनमा ल्याउन लागिएको गुरु बेखलाल भासिमाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी दुई तीनजनाबाहेक यो नाच कसैलाई आउँदैन, हामी पनि अब बूढा भयौँ, यो नाचलाई मर्न दिनुहुन्न भनेर युवाले भनेपछि यो नाच र बाजालाई नयाँ पुस्तामा सिकाउन लागेका हाँै ।”
महाभारतमा कौरवसँग युद्ध जितेपछि पाण्डवले मनाउने विजयोत्सवसँग सम्बन्धित यो नाच पाँच पाण्डवका रूपमा प्रस्तुत गरिने विगतमा नाच्दै आएका र खी बाजा बजाउने ७५ वर्षीय कान्छा भासिमाले बताउनुभयो । महाभारतको कथालाई नाचको नाटकीय प्रस्तुतिका साथ स्थानीयवासीलाई जानकारी गराउने उद्देश्यले यो नाच शुरु भएको हुनसक्ने उहाँले बताउनुभयो ।
विगतका नाचमा पनि संलग्न रहँदै आउनुभएका ८२ वर्षीय सूर्जमान भासिमाले यो नाचमा कृत्रिम घोडा बनाएर घोडामा धनुष लिएका, श्रीपेच लगाएका राजकीय पोशाक लगाएर राजा युधिष्ठिर सवार हुने र सँगै अरू दाजुभाइ पनि रहने गरी बाजा तथा गीतको तालमा टोल–टोलमा नाचिने बताउनुभयो ।

पोशाकको रङ्गअनुसार पाण्डवको दाजुभाइ वर्गीकरण गरिएको यो नाचमा अगाडि बस्ने सहदेव सेतो वस्त्रमा, बीचमा बस्ने अर्जुन निलो वस्त्रमा, त्यसपछि रातो वस्त्रका भीमसेन, मुख्य राजा कालो वस्त्रमा श्रीपेच लगाएका युधिष्ठिर र सबभन्दा पछाडि पहेँलो वस्त्रमा नकुलको प्रतीकका रूपमा यो नाच नाचिने उहाँले बताउनुभयो ।
बीचमा धेरै वर्ष रोकिएर १९ वर्ष अगाडि एकपटक नाचिएको यो नाचलाई जीवन्त राख्नुपर्छ भन्ने मान्यताका साथ स्थानीयवासी २१ युवा रहेको सलः चा प्याखँ व्यवस्थापन कमिटी बनाएर सञ्चालन गर्न लागिएको कमिटीका अध्यक्ष कृष्ण भासिमाले बताउनुभयो ।
गाईजात्राको भोलि पल्टदेखि राति करिब ७ बजेदेखि शुरु भएर टोल–टोलमा गएर राति करिब १ बजेसम्म सञ्चालन हुने गर्छ । यो नाच लगातार चार रातसम्म सञ्चालन हुने परम्परा रहेको कमिटीका सदस्य इन्द्रकृष्ण भासिमाले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्