Logo

चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटना संसदमा : जवाफ दिन सरकारलाई निर्देशन



काठमाडौँ, २२ साउन । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराएकी छिन् ।
सभामुख घर्तीले संसद्को अर्को बैठकमा सोबारे जवाफ दिन सरकारलाई निर्देशन दिएकी हुन् ।
त्यसअघि आजको बैठकको प्रारम्भमा समय माग गर्दै नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सो सडक निर्माणमा संलग्न ठेकेदारको लापरबाहीको आलोचना गरेका थिए ।
एनले आफूहरूले यस्ता घटना हुन नदिनेतर्फ आवश्यक प्रयास गर्न सरकारको पटक÷पटक ध्यानाकर्षण गराएको तर त्यसको सुनुवाइ नभएको बताउँदै मृतक बालिकाका अभिभावकलाई क्षतिपूर्तिको व्यवस्था गर्न र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्न माग गरे ।
सांसद ढकालले गरुडा घटनालगायत सडकका खाल्डामा डुबेर ज्यान गुमाएका तथा त्यस्तै प्रकृतिका घटनाका सम्बन्धमा सरकारले सदनलाई जानकारी नदिएसम्म संसद्को कारबाही सञ्चालन गर्न नदिने भनेपछि एमालेका सबै सांसद आआफ्नो आसनबाट उभिएका थिए ।
विपक्षी दलले उठाएका विषयमा सरकारलाई गम्भीर हुन सभामुखले निर्देशन दिँदै अर्को बैठकमा सरकारबाट जवाफ आउने प्रतिबद्धता व्यक्त गरेपछि एमालेका सांसद आआफ्ना आसनमा बस्नुभएपछि बैठक सञ्चालन भएको थियो ।
खाल्डा पुर्ने काम नसकिएकामा आपत्ति
आजको बैठकको शून्य समयमा सांसद् रामहरि खतिवडाले प्रधानमन्त्रीले १५ दिनभित्र काठमाडौँका सडकका खाल्डा पुर्न निर्देशन दिए पनि काम नभएकामा आपत्ति जनाएका थिए ।

सांसद रामनारायण बिंडारीले सडकमा खनिएको ‘एम्बुसरुपी’ खाडलले बालिकाहरुको ज्यान लिएकाले खाल्डा खन्ने तर नपुर्नेलाई कारबाहीको माग गरे ।
सांसद रामअयोध्या यादवले गरुडामा सामान्य असावधानीका कारण बालिकाहरुले जीवन गुमाएकामा दुःख व्यक्त गरे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot