Logo

आइतबारको संसद बैठकमा सासंदअनुसार थरिथरिका माग



२२ साउन, काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठकको विशेष समयमा सांसदले प्राकृतिक प्रकोपका कारण जनजीवन प्रभावित भएको लगायत समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गरेका छन् ।

सांसद कर्णबहादुर थापाले मुलुकका विभिन्न स्थानमा पहिरो र बाढीका कारण जनता पीडित भएकाले तत्काल जोखिमयुक्त बस्तीबाट उनीहरूलाई स्थानान्तरण गर्नुपर्नेमा जोड दिए । उनल भौगर्भिक नक्साको अभावमा कुन स्थानमा बस्ती बसाउने भन्ने नै प्रष्ट हुन नसकेकामा सरकारसँग गुनासो गरेका छन् ।

सांसद भरतबहादुर खड्काले भारत र चीनबीचको विवाद कुशल कूटनीतिको सञ्चालनबाट हुनुपर्नेमा जोड दिँदै त्यसमा नेपाल सरकारले प्रयास थाल्नुपर्ने सुझाव दिए ।
सांसद दुलारी हरिजनले सडकमा खनिएको खाल्डाखुल्डी नपुर्दा रौतहटको गरुडामा अलपत्र छाडिएको खाल्डामा परी चार बालिकाको मृत्युको कारण निर्माण व्यवसायमा लापरबाही भएकाले त्यसो गर्नेलाई तत्काल कारबाही गर्न माग गरे ।
सांसद सुशीलकुमार श्रेष्ठ र अभिषेकप्रताप शाहले सडकमा खनिएको खाडलमा परेर बालिकाको निधन भएकाले सडक निर्माणमा संलग्न निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे ।

शनिबार घाँस काटेर फर्कने क्रममा गर्मी भएपछि पौडी खेल्न गएका चार बालिकाको पौडन नजानेपछि डुबेर मृत्यु भएको सासंदहरुले बताएका छन् ।
श्रेष्ठ र शाहले प्रा डा गोविन्द केसीका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रा डा केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । त्यस्तै सांसद अनुराधा थापा मगर, मीना पुन र एकनाथ ढकालले पनि प्रा डा केसीका माग सम्बोधन गर्न सरकारले ढिलाइ गरेकामा गुनासो गरेका थिए ।

सांसद सुबोध पोखरेलले तराई–मधेशका केही जिल्ला बाढीको प्रकोपमा परे पनि केही जिल्लामा पानी नपरेका कारण खडेरीको प्रकोपमा परेकाले पीडितलाई राहत दिन माग गरे ।
सांसद अइन्द्रविक्रम नेम्वाङले स्वाइन फ्लुका कारण काठमाडौँमा छ जनाको ज्यान गएको तथा मुलुकका अन्य स्थानमा समेत उक्त रोग फैलँदै गए पनि अस्पतालमा रोग परीक्षण गर्ने उपकरण अभाव रहेको बताए ।

विशेष समयमा सांसद श्याम श्रेष्ठ, लोकमणि ढकाल, रुक्मिणी चौधरी, कमलप्रसाद पंगेनी, हरिचरण साह, यशोदाकुमारीले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot