Logo

प्रदेश नम्बर २ मा काँग्रेसलाई पहिलो पार्टी बनाउन निधिको आग्रह



काठमाडौँ, २२ साउन । आगामी असोज ३ गते सम्पन्न हुन गइरहेको प्रदेश नम्बर २ को स्थानीय निकायको तेस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसलाई कसरी जित हासिल गर्ने भन्ने विषयमा केन्द्रित भएर बहस चलाउन नेपाल विद्यार्थी संघ प्रदेश नम्बर २ ले प्रदेश नम्बर २ को ८ जिल्लाका कार्यकर्ताबीच आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिले संविधानको विरोध गरिरहेका केही राजनीतिक दल तथा मधेशी जनताको माग सम्बोधन गर्न सरकारले संविधान संशोधन प्रस्ताव दुई तिहाइले पारित गर्ने पहल गरिरहेको बताउनुभयो । उहाँले संविधानको संशोधनपछि सबै भाषा बोल्ने भाषाभाषी, लिङ्ग, धर्मावलम्बीले पनि संविधानको स्वामित्व ग्रहण गर्ने बताउँदै यसले मात्र संविधान बलियो र टिकाउ हने बताउनुभयो ।

नेपाली काँग्रेस र माओवादीको नेतृत्वले ७५ जिल्लाको ६७ जिल्लामा स्थानीय निकायको निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको र अब आठ जिल्लाको निर्वाचन पनि असोज ३ मा सम्पन्न गर्ने बताउनुभयो ।

नेपाली जनताले पहिलोपटक संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता आमूल परिवर्तनको अनुभूति पाएको बताउँदै एमालेले मधेश विरोधी गतिविधि गरी हरेक कुरामा बखेडा झिकेर देशलाई अनिर्णयको बन्दी बनाएको उहाँले आरोप लगाउनुभयो ।

पूर्वउपप्रधानमन्त्री निधिले तेस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन कार्यकर्ताबीच बहस आवश्यक रहेको र २ नं प्रदेशमा गाउँगाउँ र शहरशहरमा गई काँग्रेसलाई १२७ स्थानीय निकायमा १०० सिटमा जिताई पहिलो पार्टी बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य फिरोज आलमले २ नं प्रदेशका कार्यकर्ता सक्रिय भएमा नेपाली काँग्रेस पहिलो पार्टी हुने बताउनुभयो ।

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री उमेशजंग रायमाझी, नेवि संघप्रदेश नं २ का नेता भरत खड्का, कार्यक्रम संयोजक सञ्जय यादव, काँग्रेस केन्द्रीय सदस्य ममता महत्तो, नेवि संघका केन्द्रीय सभापति नैनसिँह महर, नेता रञ्जित कर्ण, केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालगायतका वक्ताले बोल्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot