साउन २३, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा पक्षका नेता दिलनाथ गिरीले दुई राप्रपाबिचको एकता नै दुर्भाग्य भएको बताएका छन् । पशुपतिशमशेर जबराले पार्टी फुटाएर नयाँ दल गठन गरेपछि गिरीले जबरासँगको एकता नै दुर्भाग्य भएको तर्क गरेका हुन् ।
कमल थापाको नेतृत्वमा रहेको राप्रपाको सिद्धान्त स्विकार गरेर आएकाले पार्टी एक भएको स्मरण गराउँदै गिरीले भने, “जुन किसिमबाट उहाँहरु पलायन हुनुभयो, जसरी विचलित हुनुभयो, त्यो प्रजातान्त्रिक प्रक्रियाका लागि दुर्भाग्य हो ।”
गिरीले पशुपति शमशेर जबरालाई अरु कुनै शक्तिले यो अवस्थामा पु¥याएको आशंका समेत गरेका छन् ।
कमल थापाको खुला र प्रजातान्त्रिक नेतृत्वलाई शंका गर्नुपर्ने ठाउँ नरहेको जिकिर गर्दैै गिरीले पशुपतिशमशेर र प्रकाशचन्द्र लोहोनीले कमल थापाको योग्यता राम्रोसँग चिनेको दाबी गरे । उनले भने, “कमल थापाको जुन अद्भूत सहसिक हिम्मत छ, पार्टी हाँक्न सक्ने जुन क्षमता छ, त्यसले पार्टीको अभियानलाई अथाडि बढाइरहन्छ ।”
९४ प्रतिशत जनताको हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा राप्रपाले आवाज उठाउँदै आएको र त्यसलाई पशुपति शमशेरले समेत साथ दिन्छु भनि पार्टी एकीकरण भएको गिरीको तर्क छ । तर पशुपतिशमशेरको प्रवेशपछि पार्टीभित्र देशी विदेशी शक्तिको चलखेल हाबी भएको गिरीले बताए ।
हिजो मात्रै तीन दलका शीर्षस्थ नेता कमल थापा, लोकेन्द्रबहादुर चन्द र पशुपति शमशेरकोबिचमा विहान भएको वार्ताले आज लिखित रुपमा समस्या टुङ्ग्याउने सहमति भएको जानकारी दिदै गिरीले हतारमा छापामार शैलीमा दल दर्ता गरिएको आरोप लगाए ।
उनले भने, “नक्कली हस्ताक्षर गराएर दल दर्ता गराइएको हो ।”
नक्कली हस्ताक्षर भएको विषयमा छानबिन गरिने चेतावनी समेत गिरीले दिएका छन् । विधि र प्रक्रियामा सनाखत गर्दा नक्कली हस्ताक्षर प्रमाणित गर्ने चेतावनी गिरीले दिएका हुन् ।
पशुपति शमशेर पक्षले २० जना सासंद आफ्नो पक्षमा रहेको दाबी गरे पनि त्यो झुटो भएको भन्दै गिरीले १६ जना सासंदले मात्रै पार्टी छोडेर गएको बताएका छन् ।
कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाएकाले आफुहरु खुशी भएको दाबी समेत गिरीले गरे ।