Logo

‘नेपाल आर्थिक रुपमा गरिब भएपनि धार्मिक–साँस्कृतिक रुपमा धनी देश हो’ : डा. उपेन्द्र महतो



काठमाडौँ, २३ साउन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् समाजसेवी डा. उपेन्द्र महतोले नेपाल आर्थिक रुपमा कमजोर भएपनि सामाजिक, धार्मिक र साँस्कृतिक रुपमा अति नै बलियो देश भएको बताएका छन् । डा. महतोले आर्थिक रुपमा कमजोर भएपनि नेपाल आध्यात्मिक रुपमा बलियो भएकोले यसको विकासमा सबैले जोड दिनुपर्ने धारणा राखे ।

आईतबार राति बोल बम काँवरिया संघले आयोजना गरेको २१ औं श्रावणी मेलाको अवसरमा काठमाडौंका सुन्दरीजलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महतोले नेपालको सभ्यता र संस्कृतिमा अध्यात्मको पाटो हटाईदिने हो भने सबै निरश हुने समेत बताए । उनले भने,‘नेपाल धार्मिक, समाजिक र सहिष्णुताको पाटोले अत्यन्तै बलियो छ, त्यसैले अध्यात्मिक कुरा नहुन्थ्यो भने समाजमा द्धन्द्ध मौलाउने थियो, तर आज त्यही धार्मिक संहिष्णुता भएकोले हामी सम्पूर्ण नेपालीहरुवीच प्रेम, स्नेह र भाईचारा बढि छ, यसलाई सदा सदैव जोगाएर राख्नुपर्छ।’

संघका केन्द्रिय अध्यक्ष रामआज्ञा रौनियारको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा डा. महतोले नेपाल अरुले बनादिने भनेर अब नेपालीहरुले मुख ताकेर बस्न नहुने समेत स्पष्ट पारे । उनले थपे,‘हाम्रो देश हामी आँफैल बनाउने हो, अरुले आएर बनाईदिन्छ भनेर मुख ताक्ने काम गर्नुहुँदैन्, सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्छ।’

उनले नेपालको पशुपतिनाथ मन्दिर विश्वकै हिन्दुहरुको शान भएकोले यसलाई आगामी दिनमा संरक्षण एवम् प्रर्वद्धन गर्न राज्यले विशेष पहल गर्नुपर्ने जोड दिए । उनले बोलबम काँवरिया संघको आफ्नै धाम निर्माणको लागि आफूलेपनि सहयोग पुर्याउने विश्वास दिलाए ।

त्यस्तै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपालको सुन्दरीजललाई समेत अब भारतको गंगाजलजस्तै धार्मिक–पर्यटन हवको रुपमा विकास गर्नुपर्ने धारणा राखेका छन् ।

उनले भने,‘भारतको गंगा नदिप्रति करोडौं भक्तालुहरुको भीड लाग्छ, अब नेपालको सुन्दरीजल क्षेत्रलाई धामिर्क–पर्यटन हब बनाउनुपर्छ, यहाँको चञ्चल पानी छ, पछिल्लो समय सुन्दरीजल क्षेत्र धार्मिक पर्यटन क्षेत्रको रुपमा चिनिएको छ।’

विश्वबाट आउने धार्मिक पर्यटकहरुको लागि सुन्दरीजल पर्यटन हब बनाउनुपर्ने र यसको लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । धमलाले काँवरिया संघको भवन निर्माणको लागि आफूले पूर्ण रुपमा सहयोग पुर्याउँने समेत विश्वास दिलाए ।

उनले भने,‘पशुपतिदेखि, गौतम बुद्ध जन्मेको देशमा हामीले किन विकास गर्न सकेनौं, यो अहिलेपनि आश्चर्यको विषय बनेको छ।?

त्यस्तै कार्यक्रममा नेकपा एमालेका सांसद रामेश्वर फुयाँल, सांसद डिम्पल कुमारी झा र सुन्दरीजल नगरपालिकाका मेयर सन्तोष चालिसे लगायतले आफ्नो धारणा राखेका थिए ।
हरेक वर्ष साउन महिनामा मनाईने बोलबम यस वर्षपनि भव्य रुपमा मनाईदैछ। विशेष गरेर साउन महिनाको सोमबार देशभरका शिवालयहरुमा भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ।

आज साउनको चौथो सोमबार पशुपतिनाथ मन्दिरमा विहानैदेखि भक्तजन पूजाआजा गर्न लामबद्ध थिए। भक्तजन सुन्दरीजलस्थित बागमती नदीबाट शुद्ध जल ल्याई पशुपति मन्दिरमा अर्पण गर्ने गर्दछन्। साउनको सोमबार शिवलाई शुद्ध जल चढाए मनोकांक्ष पूरा हुने विश्वास रहिआएको छ।

 



प्रतिक्रिया दिनुहोस्