Logo

वैदेशिक लगानी भित्र्याउनुपर्छ : ऊर्जा मन्त्री



काठमाडौँ, २३ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालको ऊर्जा क्षेत्रमा विकास गर्नका लागि भारत र चीनबाहेकका मुलुकको लगानी पनि आवश्यकपर्ने बताउनुभएको छ ।

उहाँले नेपालमा चीन र भारतको लगानीले मात्र नपुग्ने भन्दै अन्य मुलुकको वैदेशिक सहायता आवश्यकता पर्ने स्पष्ट पार्नुभयो ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्ग सिकले आज यहाँ ऊर्जामन्त्री शाहीसँग गरेको शिष्टाचार भेटका अवसरमा मन्त्री शाहीले संसारमा समृद्ध मुलुकको विकास र प्रगतिबाट नेपालले फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।

“भारत र चीनको लगानीले मात्रै पुग्दैन, त्यसका लागि अन्य मुलुकको लगानी भित्र्याउने वातावरण बनाउने गरी नीति बनाउनुपर्छ”– मन्त्री शाहीले भन्नुभयो, “त्यसको पहल मेरै कार्यकालमा सुरु गरिनेछ ।”

ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै उहाँले नेपालमा अब स्थिर राजनीतिको वातावरण बनिसकेकाले विकास निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

भेटमा कोरियन राजदूत योङ्सिकले अपर त्रिशूली १ को विद्युत् खरिद सम्झौता (पिपिए) अगाडि बढाइदिन आग्रह गर्नुभएको थियो ।

उहाँले भारत र चीनले नेपालमा सहायता गर्न जति सजिलो छ, त्यस्तो वातावरण अन्य मुलुकलाई नभएको बताउँदै आफ्नो देशले नेपालमा लगानी गर्न चाहेको बताउनुभयो ।

राजदूत योङ्सिकले नेपालमा लगानी गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री शाहीको ध्यानाकर्षण पनि गराउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot