Logo

वैदेशिक रोजगारीका नाममा ठगी मौलाउँदै



साउन २५, काठमाणडौ । नेपाली युवा कामको खोजिमा विदेश जान थालेको धेरै वर्ष भइसक्यो । सरकारले स्वदेशमा पर्याप्त रोजगारीको अवसर सृजना गर्न नसक्दा युवावर्गको विदेश पलायन रोकिन सकेको छैन । अर्कोतिर वैदेशिक रोजगारीका नाममा ठगीधन्दा भने बढ्दै गएको छ । फ्रि–भिषा र फ्रि–टिकटका कारण विदेसिनेको संख्या घटेको बताइएपनि ठगी भने हरेक बर्ष बढ्दै गएको हो ।
काम गर्नकै लागि खाडि मुलुकसहित मलेसिया लगायतका देशमा नेपाली युवाको संख्या वर्षेनी थपिदै गएको छ । तर विदेशमा रहेका युवा वर्गलाई फर्काउने वा स्वदेशमै रोक्ने कुनै नीतिगत परिवर्तन हुन सकेको छैन । जसका कारण लाखाँै युवा विदेश जान बाध्य छन् । दैनिक एक हजार ७ सयभन्दा बढि युवा विदेश गइरहेका छन् । पछिल्लो समय विदेश जाने महिलाको संख्या समेत बढ्न थालेको छ ।

विदेश गएर पैसा कमाउने सपना देखेका युवाहरुल कठिन परिश्रम गर्न बाध्य छन् भने अधिकांश महिला शोषणमा पर्ने गरेका छन् । अर्को दुखद पक्ष, विदेश जाने क्रममा नेपाली युवाहरु ठगिने गरेका छन् । पछिल्लो दुई आर्थिक बर्षमा मात्र वैदेशिक रोजगारीका नाममा करिव एक अर्ब ५० करोड रुपैयाँ रकम ठगी भएको छ । यो रकम ठगी भएको भन्दै बिगो दावी सहित वैदेशिक रोजगार बिभागमा ४ हजार ५ सय ५५ वटा उजुरी परेका छन् । गत आर्थिक बर्ष २०७३÷०७४ मा मात्र वैदेशिक रोजगारीका नाममा ७५ करोड ७८ लाख ४१ हजार ८ सय ४ रुपैयाँ रकम ठगी भएको छ ।

यो अघिल्लो आर्थिक बर्षको तुलनामा ६ करोड २७ लाख ४५ हजार ३ सय २ रुपैयाँ बढी हो । अघिल्लो आवमा ६९ करोड ५० लाख ९६ हजार ५ सय २ रुपैयाँ ठगी भएको भन्दै विगो दावी सहित बिभागमा उजुरी परेको थियो । गत आवको ठगी विगो दावी गर्दै २ हजार ३ सय ८३ वटा उजुरी विभागमा परेका छन् । यो संख्या अघिल्लो आवको तुलनामा २ सय ११ ले वढी हो । अघिल्लो आवमा यस्तो ठगीलाई लिएर विगो दावी गर्दै कुल २ हजार एक सय ७२ वटा उजुरी विभागमा दर्ता भएका थिए । विभागका अनुसार गत आर्थिक वर्षमा संस्थागत अर्थात म्यानपावरबाट भएको ठगीलाई लिएर एक हजार ४ सय ४५ र व्यक्तिगत ठगीका ९ सय ३१ वटा उजुरी दर्ता भएका थिए ।

तर, अघिल्लो बर्ष भने संस्थागत ठगीका एक हजार ४ सय ६८ र व्यक्तिगतका ७ सय ४ वटा उजुरी विभागमा दर्ता भएका थिए । गत आर्थिक वर्षमा मात्र म्यानपावर कम्पनीवाट ४३ करोड ६० लाख ६५ हजार एक सय १८ रुपैयाँ रकम वैदेशिक रोजगारीका नाममा ठगी भएको छ । यो अघिल्लो बर्षको तुलनामा दोब्बर हो । करियर निर्माणका लागि आर्थिक पाटो महत्वपूर्ण हुन्छ । त्यसैले पैसा कमाउनकै लागि विदेश जानु बाध्यता छ भने श्रम शोषणको सिकार हुनु दुखद पक्ष । त्यसमाथि ठगिका घटनाले विदेश जान चाहने युवावर्गलाई त्रसित बनाएको छ । तर सरकारले भने यसतर्फ ध्यान दिएको पाइदैन ।



प्रतिक्रिया दिनुहोस्