Logo

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्न गृहमन्त्रीको निर्देशन



काठमाडौँ, २७ साउन । गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य तीव्र पार्न निर्देशन दिनुभएको छ ।

उहाँले आज बिहान सडक डिभिजन कार्यालय इटहरीबाट दुईवटा ठूला चेन डोजर त्यसतर्फ उद्धारका लागि पठाउन निर्देशन दिनुभएको गृहमन्त्री शर्माका प्रेस संयोजक लक्ष्मी पुनले जानकारी दिनुभयो ।बाढीका कारण खाडो नदीले बहाव परिवर्तन गरेपछि त्यहाँ रहेको बाँध भत्किने सम्भावना भएकाले नदीलाई पुरानै धारमा फर्काउन चेन डोजर त्यसतर्फ लागिएको हो ।

प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती र नेपाली सेनाका मेजर दिपेश राना मगरको नेतृत्वमा प्रहरी, सेना र सशस्त्र प्रहरीका जवान उद्धारमा खटेका छन् । बुधबार रातिदेखिको साउने झरीले खाडो खोलामा बाढी आएको हो ।सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार बाढीका कारण एकजनाको मृत्यु भएको छ ।

जिल्लाकै तिरहुत गाउँपालिकाको मैनाकडेरी र भेडियामा पनि डुबानको समस्या आएपछि त्यहाँ पनि उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्