Logo

चितवनका अधिकाशं क्षेत्र डुबानमा (फोटो फिचर)



साउन २९, काठमाण्डौ । चितवन जिल्लाको पूर्वि र पश्चिमी क्षेत्रका भुभागहरु डुबानमा परेका छन् । राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्र डुबानमा परेको छ ।

चितवनबाट पर्सामा बाढी पीडितलाई उद्दार गर्न गएका कृष्ण पौडेलका अनुसार राप्ती नदीमा आएको बाढीले पर्सा बजार डुबानमा परेको हो । अहिले नारायणगढबाट उद्दारका लागि नेपाल विद्यार्थी संघको नेतृत्वमा सर्वसाधारणसहित व्यवसायीहरु समेत उद्दारमा खटिएको पर्वतका नेपाली कांग्रेसका नेता समेत रहेका पौडेलले जानकारी दिए ।

चितवनको नारायणगढबाट २० किलोमिटर पूर्वमा पर्ने पर्सा बजार जिल्लाको मुख्य बजार मानिन्छ ।
वर्षात्का बेला नारायणगढको खतरा मानिने नारायणी नदी भने सामान्य अवस्थामा रहेको पौडेलले बताए । यस पटकको अविरल वर्षाले राप्ती नदीमा ठूलो बाढी आएपछि त्यस नदी वरपरका क्षेत्र डुबानमा परेका छन् ।

पूर्वी चितवनमा पनि विजुली आपूर्ति ठप्प भएको त्यहाँबाट कृष्ण पौडेलले जानकारी दिएका छन् । नारायणगढबाट उद्धार टोलीसहित पुगेका पौडेलका अनुसार विद्युत आपूर्ति बन्द हुँदा संचार समेत विच्छेद हुने खतरा बढेको छ ।

पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । लगातारको बर्षापछि राप्ती नदीमा आएको बाढीले डुबानमा पारेपछि सौरहा घुम्न आएका विभिन्न देशका र आन्तरिकसहित झण्डै ७ सय पर्यटक फसेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका स्वदेशी तथा बिदेशी गरि झण्डै ७ सय पर्यटक फसेका हुन् ।

तस्विर : कृष्ण पौडेल, चितवन



प्रतिक्रिया दिनुहोस्