Logo

पर्सामा बाढीबाट नौ हजारभन्दा बढी प्रभावित



पर्सा, १ भदौ । पर्सामा आएको बाढीबाट नौ हजारभन्दा बढी व्यक्ति प्रभावित भएको प्रहरीले जनाएको छ ।

साउन २६ गतेदेखि २९ गतेसम्म लगातार चार दिन परेको अविरल वर्षाको कारण जिल्लामा रहेका खोलाको पानी मानवबस्तीमा प्रवेश गर्दा दुई हजारभन्दा बढी घर डुबान हँुदा त्यसबाट नौ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका हुन् ।

चार दिन लगातार परेको वर्षा र खोला तथा गण्डक नहरको पानी मानव बस्तीमा प्रवेश गर्दा भएको डुबानमा परी ८५० घर पूर्णरुपमा क्षति र ९५० वटा घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

उहाँले बाढीका कारण घरबारविहीन भएकालाई नजिकैको सामुदायिक विद्यालय तथा उच्च स्थानमा जिल्ला दैविप्रकोप उद्धार समितिबाट उपलब्ध गराएको त्रिपालमा बासको व्यवस्था गरिएको बताउनुभयो ।

विगत तीन दिनदेखि वर्षा नभएपछि बस्तीमा पसेको पानी कम हँुदै गएपछि डुबानमा रहेका बस्तीमा सर्वसाधारण फिर्ता हुने क्रम शुरु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बुधबार जानकारी दिनुभयो ।

उहाँले घरबारविहीन भएका र खाना पकाउन नसक्ने अवस्था भएका स्थानका बाढीपीडितका लागि दैविप्रकोप उद्धार समितिले खानाको प्रबन्ध मिलाएको बताउनुभयो ।

वीरगन्जका विभिन्न संघ संस्था तथा उद्योगपतिले दिएको पाँच हजार किलो राहत सामग्री बुधबार डुबान प्रभावित क्षेत्रमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

उहाँले वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएका चारवटा टिपर र सुरक्षा निकायसँग रहेका बाहनको सहयोगमा एक हजार ५०० किलो चामल, एक हजार ५०० किलो चिउरा, एक हजार १०० किलो भुजा, तीन हजार प्याकेट चाउचाउ, दाल, आलु, नुन, मसला र खानेपानी डुबान प्रभावित क्षेत्रमा पु¥याएको बताउनुभयो ।

बाढीबाट बढी प्रभावित भएका पर्साको जानकीटोला, दशौता, भिष्वा, बुडगाई, सम्भौता, जयमङ्गलापुर, टिहुकी, मिर्जापुर, असवारी, धोवनीलगायतका स्थानमा राहत सामग्री पु¥याउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी दिनरात खटिरहेको सहायक प्रजिअ पौडेलको भनाइ रहेको छ ।

पर्सामा हाल उद्धार र राहत वितरण कार्य नै भइरहेकाले डुबानबाट भएको क्षतिको यकिन विवरण संकलन हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot