Logo

कैलालीमा ६० हजार १२ मतदाता थप



धनगढी, ४ भदौ । फोटोसहितको मतदाता नामावली संकलनका क्रममा कैलाली जिल्लामा ६० हजार १२ जना नयाँ मतदाता थपिएका छन् ।थपिएका मतदातामा ३३ हजार १८० महिला र २६ हजार ८३२ पुरुष रहेको धनगढीस्थित क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताउनुभयो । यी मतदातामध्ये क्षेत्रीय निर्वाचन कार्यालयमार्फत सबैभन्दा बढी मतदाताको नाम संकलन भएको छ ।

साउन १ गतेबेखि शुरु भएको मतदाता नामावली संकलन कार्य भदौ ३ गतेसम्म जारी रहेको थियो । कैलाली जिल्लाको एक उपमहानगरपालिका ९धनगढी०, छ वटा नगरपालिका र छ वटा गाउँपालिकासमेत १३ स्थानीय तहका कार्यालयमार्फत समेत फोटोसहितको मतदाता नामावली संकलन कार्य गरिएको थियो ।

यसबाहेक क्षेत्रीय निर्वाचन कार्यालयले पनि मतदाता नामावली संकलन गर्दै आएको थियो । कैलाली जिल्लामा बसाइँ सराइ गरेर आउनेहरुको चाप बढी भएकाले मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको संख्या पनि बढेको कार्यालयले जनाएको छ ।

स्थानीय तहका कार्यालयका साथै निर्वाचन कार्यालयमा नामावली संकलन, अध्यावधिक गर्ने, त्रुटि सच्याउने, नामावली सार्नेलगायतका काम गरिएको थियो । पहिलो पटक आफ्नो गाउँठाउँमा नै मतदाता नामावलीमा नाम दर्ता गराउन पाएकामा स्थानीयवासी खुशी देखिएका छन् । जिल्ला सदरमुकाम पुगेर नाम दर्ता गराउनु पर्ने पहिलेको जस्तो बाध्यता हटेपछि स्थानीयवासी खुशी भएको नाम दर्ता गराउन आउनुभएका जंगबहादुर चौधरीले बताउनुभयो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लामा चार लाख तीन हजार २८० मतदाता थिए । नयाँ थपिएका मतदातासमेत जिल्लाको कूल मतदाता संख्या चार लाख ६३ हजार २९२ पुगेको छ । रासस



प्रतिक्रिया दिनुहोस्