Logo

वर्षा र बाढी रोकियो, यस्तो छ बाढीको क्षति



भदौ ४, काठमाण्डौ । यस वर्ष आएको अविरल वर्षाले ठूलो भौतिक क्षति पु¥याएको छ । प्रभावित क्षेत्रमा आवास, कृषि बाली, सडक, विद्युत, टेलिफोन, उद्योगधन्दामा व्यापक क्षति पुगेको छ । १२ वैशाख ०७२ को महाभूकम्पको जस्तै ठूलो क्षती बाढी पहिरोबाट भएको सरकारी र निजी क्षेत्रका अधिकारीहरुको अनुमान छ । मानवीय क्षति र पुनर्निर्माणमा लाग्ने समय र बजेट बराबर नरहे पनि मुख्य उत्पादन र औद्योगिक क्षेत्रमा पुगेको नोक्सानीको आँकडा कम नरहेको अनुमान गरिएको छ ।
महाभूकम्पले औद्योगिक तथा व्यापारिक क्षेत्रमा १५ अर्ब रुपैयाँबराबरको क्षति पुगेको निजी क्षेत्रको आँकलन थियो । अहिलेको क्षति त्यसभन्दा बढी हुनसक्ने अनुमान निजी क्षेत्रको छ । मुलुकको मुख्य औद्योगिक क्षेत्र विराटनगर, हेटौंडालगायतमा बाढीले क्षति पु¥याएपछि क्षति धेरै भएको हो । यद्यपी सबै क्षतिको यथार्थ विवतरण भने आइसकेको छैन । लगत संकलन भइरहेकाले अहिले नै बाढीको क्षति आँकलन गर्न नसकिने राष्ट्रिय योजना आयोगले जनाएको छ ।

कृषि विकास मन्त्रालयका अनुसार बाढीका कारण प्रभावित क्षेत्रमा करोडौंको क्षति भएको छ । भारी वर्षाले पूर्वाञ्चलमा मात्र १४ करोड रुपैयाँबराबरका तरकारी डुबानमा परेको मन्त्रालयले जनाएको छ । पूर्वाञ्चलमै तीन करोड रुपैयाँबराबरको माछा र करिब १२ करोड रुपैयाँको सञ्चित खाद्यान्न डुबानमा परेको मन्त्रालयको आँकडा छ । बाढीले पूर्व क्षेत्रका झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा बढी क्षति पुगेको छ ।

मध्य तराईको पर्सामा २० हजार हेक्टरको धान र तरकारी, बारामा ५६ हजार हेक्टरको धान, नौ हजार पाँच सय हेक्टरको तरकारी र पाँच सय हेक्टरमा पालिएका माछा डुबानमा परेका मन्त्रालयले जनाएको छ । यस्तै, धनुषामा २१ हजार हेक्टरमा रोपिएको धान, एक हजार सात सय हेक्टरमा लगाइएको रहर, आठ सय हेक्टरको माछा, डेढ सय हेक्टरको धान डुबानमा परेको छ ।

लगातारको वर्षाका कारण सडक पूर्वाधार र आयोजनामा पनि क्षति पुगेको छ । कतिपय स्थानमा यातायात अवरुद्ध छ । सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा पुल र सडक बगेका छन् । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पनि क्षति पुगेको छ । बाढी प्रभावित जिल्लामा ५० भन्दा बढी पुल भत्किएको विभागले जनाएको छ । विद्युत प्राधिकरणका अनुसार वर्षाका कारण दुई अर्ब रुपैयाँबराबरको क्षति पुगेको छ । वर्षासँगै आएको बाढी पहिरोले पूर्वाञ्चलका सबै जिल्लामा बिजुली आपूर्ति प्रभावित भएको थियो । त्यस्तै मध्य क्षेत्रका अधिकांश जिल्लामा पनि विद्युत सेवा अवरुद्ध भएको थियो । प्राधिकरणका अनुसार दमक–गोदक खण्डको एक सय ३२ केभी प्रसारण लाइनअन्तर्गत् इलामको चुलाचुलीस्थित टावर नम्बर १७ बाढीको कारण ढलेको छ ।

यस्तै, हेटौंडा सब–स्टेसनअन्तर्गत् हेटौंडा सिमेन्ट नजिक ६६ केभीको टावरमा क्षति पुगेको थियो । बाढी पहिरोले बिजुलीका सब–स्टेसनमा क्षति पुग्दा विद्युत आयात पनि प्रभावित भएको छ । बाढी पहिरो र डुबानबाट ८० हजार घर पूर्ण रुपमा क्षति भएको छ भने १ लाखभन्दा बढि घर आंशिक रुपमा क्षतिग्रस्त बनेको गृह मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्