Logo

परराष्ट्रविद्धहरुको सुझाव,‘ भ्रमणलाई सद्भावपूर्ण बनाऔ, बाँकी विषय आफै राम्रो बन्छ’



काठमाडौ, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण सद्भाव भ्रमणको रुपमा हुनु पर्ने सुझाव परराष्ट्रविद्धहरुले दिएका छन ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा प्रबुद्ध समूहमा नेपाली पक्षको संयोजकसमेत रहेका डा. भेषबहादुर थापाले प्रधानमन्त्रीको भारत भ्रमण सद्भाव भ्रमणको रुपमा रहनु पर्ने भन्दै दुई मुलुका शिर्ष नेतृत्वबीच सद्भावपूर्ण सम्बन्ध भए बाँकी विषयहरु आफै राम्रो र घनिष्ठ बन्ने विश्वास ब्यक्तगरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले भने,‘ प्रधानमन्त्रीको भ्रमण दुई मुलुकबीचको सम्बन्धमा सद्भाव ल्याउने गरि सद्भावपूर्ण हुनु पर्छ । सम्बन्धमा सद्भाव भए बाँकी सबै कुरा आफै बन्छ । सदभाव नभए सबै बिग्रन्छ ।’

थापाले प्रधानमन्त्रीको भ्रमणमा नयाँ विषय ल्याउनु भन्दा पनि अहिलेसम्म भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिनु पर्ने भन्दै भ्रमणले सहमति कार्यान्वयनमा सकारात्मक बातावरण निर्माण गर्ने विश्वास ब्यक्त गरे ।

‘बाढी, जलस्रोत, सीमा, आपसी हित जस्ता विषय हुँदै आएका विषय हुन, यसमा थप कुनै सहमति भन्दा पनि भएकालाई कार्यान्वयन गर्ने विषयमा केन्द्रीत हुनु पर्छ,’उनले भने,‘ यो भ्रमण नेपाल भारत सम्बन्धमा लागेको बादल हटाउने अवसर हो, दुई देशवीच भेटघाट र संबादमा कुनै कमी छैन । मख्य समस्या भनेको समझदारीको अभाव हो, त्यसमा काम गर्नु पर्छ ।’

संविधान जारी गर्दाको भारतको बक्तब्य, नाकाबन्दी जस्ता कारणले सम्बन्धमा अप्ठ्यारोपन आएको भन्दै प्रधानमन्त्रीको भ्रमण त्यसलाई सकारात्मक मोड दिने तर्फ केन्द्रीत हुनु पर्ने उनको भनाई थियो ।

भारत र चीनविचको डोकलम विवादमा उनीहरुले नेपालसँग कुनै कुरा नगरेकोले अहिले नबोल्नु नै उपयूक्त हुने भन्दै अप्ठ्यारो परिस्थितिमा नेपालले दुई छिमेकी विचको समस्या कुटनीतिक तहमा छलफल गरे र समाधान गर्नु पर्नेमा जोड दिनु पर्ने थापाले धारणा राखे ।

साक्षात्कारमा भारतका लागि पूर्व नेपाली राजदुत दुर्गेसमान सिंहले नेपाल र भारत बीचको सम्बन्ध सद्भाव र विश्वासको आधारमा हुनुपर्ने बताए । उनले भने,‘नेपाल–भारतबीचको सम्बन्ध निक्कै पुरानो हो, खुल्ला सिमाना छ, हरेक हिसावमा दुई देशको सम्बन्ध प्रगाढ छ, दुवै देशले आपसी हितको आधार सम्बन्धलाई व्यापक बनाउनुपर्छ।’

उनले नेपालको हितका निम्ति सबै राजनीतिक दलहरु परराष्ट्र नीतिको बारेमा एक ठाउँमा उभिनै पर्नेमा जोड दिदै राजनीतिको नाममा होस या पार्टीको स्वार्थलाई केन्द्रमा राखेर परराष्ट्र नीतिमा विमति नहुने बताए ।

सिंहले भने ,‘हाम्रो देश भौगोलिक विशेषताको आधारमा चिनिन्छ, हाम्रो देशलाई विशाल दुई मुलुकले घेरेका छन्, चीन र भारतलाई सन्तुलनमा राखेर परराष्ट्रनीति निर्माण गर्नुपर्छ।’

उनले नेपाल–भारत सिमानामा निर्माण गरिएका बाँधले नेपाल तर्फको मात्रै क्षति नगरेको र भारततर्फ पनि ठुलो क्षति गरेको बताउँदै त्यसको दिगो समाधानको लागि दुबै देशका प्रधानमन्त्री तहमा प्रयास हुनु पर्ने बताए ।

सिंहले प्रधानमन्त्रीको भ्रमणमा भारत र चिनबीचमा अहिले जुन प्रकारको लडाई भईरहेको छ, त्यसबाट नेपाललाई पर्ने असरका बारेमा पनि छलफल हुनुपर्ने भन्दै दुई देशको बीचमा रहेर सन्तुलित सम्बन्ध राख्न नसकिए भोलिका दिनमा अनेकन समस्या आईलाग्ने आशंका ब्यक्त गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतसँग सुरक्षा विषयको चासो, दुईदेशबीचको अन्तर सम्बन्ध, सन्तुलित सम्बन्ध र राष्ट्रियता जस्ता कुराहरुलाई ध्यान राखेर भम्रणमा जान आग्रह समेत गरे ।

साक्षात्कारका सभापति ऋषि धमलाले नेपाल र भारतविचको सम्बन्ध ऐतिहासिक र बहुआयामिक भएकोले यसलाई अझै सुदृढ बनाउनुमै दुबै मुलुकको हित अन्र्तनीहित हुने भन्दै प्रधानमन्त्रीको भ्रमण सम्बन्धलाई अझै प्रगाढ र सद्भावपूर्ण बनाउने तर्फ केन्द्रीत हुनु पर्ने धारणा राखे ।

 



प्रतिक्रिया दिनुहोस्