Logo

विकास समितिको कडा निर्देशन, सरकार अप्ठ्यारोमा



भदौ ६, काठमाण्डौ । संसदको विकास समितिले बाढी, पहिरो र डुबानबाट क्षति भएको भौतिक पूर्वाधार तत्काल निर्माण गरी जनजीवन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले भौतिक पूर्वाधारको क्षति र निर्माणसम्बन्धि विस्तृत कार्ययोजना बनाई ५ दिन भित्र समितिमा पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र सिंचाई मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले बाढि, पहिरो र डुबानबाट क्षति भएको भौतिक पूर्वाधार निर्माणका लागि बजेटको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई सचेत गराएको छ ।
समितिले बाढी, पहिरो र डुबान नियन्त्रणसम्बन्धि दीर्घकालीन योजना बनाइ कार्यान्वयन गर्न सरकारलाई पुनः सचेत गराएको छ । समितिले योजना तर्जुमा गर्नका लागि तत्काल बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले विपद् व्यवस्थापनका लागि वन मन्त्रालयले सहयोग नगरेको गुनासो गरे ।
बैठकमा समितिका सदस्यहरुले बाढी, पहिरो र डुबानबाट भौतिक पूर्वाधारको क्षेत्रमा भएको क्षतिको एकीन वितरण संकलन गरी निर्माणको कामलाई तीव्र गतिमाअघि बढाउन सरकारसँग माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्