Logo

दिल्ली दिलखोलेर देउवाको स्वागतको तयारीमा



ऋषि धमला, नयाँ दिल्ली, ६ भदौं । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको बुधवारबाट सुरु हुने भ्रमणलाई भारतले महत्वका साथ तयारी अघि बढाएको छ ।

नेपालमा अत्याधिक बहुमतमा सरकारको नेतृत्व गरेका देउवालाई भारतले परिपक्व नेताको रुपमा लिदै उनको स्वागतमा विशेष तयारी थालेको हो । प्रतिकुल परिस्थितिका बाबजुद भारतसँग धेरै महत्वपूर्ण सम्झौता गराउन सफल देउवाको यो भ्रमणलाई बदलिदो परिस्थितिमा उपयोग गर्ने सोचका साथ भारतले भ्रमणलाई विशेष महत्वका साथ लिएको हो ।

भारत र चीनबीचको डोकलम विवादको विषयलाई लिएर भारतीय सञ्चारमाध्यमहरुले भारतको समर्थन गर्ने विषयमा नेपाल अगाडि नआउने आशयको समाचार प्रकाशित गरिरहेको सन्दर्भमा चीनसँगको विवादमा नेपाललाई आफ्नो पक्षमा पार्ने हिसावले समेत भारतले भ्रमणलाई विशेष महत्व दिएको जानकारहरु बताउँछन ।

भारतले यो भ्रमणको क्रममा पुराना सम्झौता कार्यान्वयनसहित नेपालको जलविद्युत विकासमासहित नेपाल भारतबीचको सम्पूर्ण विवादहरुमा छलफल गरेर नेपाललाई विश्वासमा लिने गरी तयारी गरेको बताईएको छ ।

भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्याय मुलुकको समस्या समाधान गरेको परिपक्व राजनेता, मुलुकको समस्याको समाधान गरेर मुलुकलाई निर्वाचनमार्फत लोकतन्त्रको बाटोमा अघि बढाएको र अत्याधिक बहुमत प्राप्त सरकारको नेतृत्व गरेकोको कारणले भारतले यो भ्रमणलाई विशेष महत्व दिएको बताए ।

उनले यो भ्रमणको क्रममा पञ्चेश्वर परियोजनासहितका पूर्व सहमति कार्यान्वयन, बाढी, सीमा छेउमा निर्माण गरिएको तटबन्धका विषयमा छलफल हुने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्